रोनाल्डोलाई एक खेलमात्र प्रतिबन्ध हुने सम्भावना

एजेन्सी / युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई एक खेल मात्र प्रतिबन्ध हुने सम्भावना बढेको छ । रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर जेसन मुरील्लोको कपाल तानेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए ।

यद्यपी यूईएफए स्रोतका अनुसार रोनाल्डोलाई न्यूनतम १ खेलको प्रतिबन्ध नै लाग्ने भएको छ । यसअघि उनलाई २ देखि ३ खेल प्रतिबन्ध हुने सम्भावना रहेको थियो । यदि रोनाल्डो ३ खेल प्रतिबन्ध भएको भए म्यानचेस्टर युनाइटेडविरुद्ध अवे मैदानमा अक्टोबर २३ र घरेलु मैदानमा नोभेम्बर ७ मा हुने खेल गुमाउने थिए ।

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रोनाल्डोलाई दिएको रातो कार्डको छानविन थाल्दैछ । रातो कार्ड पाएपछि रोनाल्डो भावुक हुँदै मैदान छाडेका थिए । यदि उनलाई एक खेल प्रतिबन्ध लगाएको खण्डमा उनले योंग ब्वाइजविरुद्धको खे गुमाउने छन् । उनले एक खेलको प्रतिबन्धमाथि भने यूईएफएमा अपिल गर्न पाउने छैनन् । तर दुई वा सो भन्दा बढी खेल प्रतिबन्ध लागेमा उनले अपिल गर्न पाउने प्रावधान छ ।

रोनाल्डोले रातो कार्ड पाएपनि उनले म्यानचेस्टर युनाइटेडविरुद्ध भने खेल्न पाउने अपेक्षा धेरैले गरेका छन् । युनाइटेडका पूर्व मिडफिल्डर ड्यारेन फेल्चारले भने, ‘रातो कार्ड निकै फितलो निर्णय थियो । खेलको नियम पढ्ने हो भने त्यो हर्कत गलत नै हो तर त्यसको लागि एक खेल भन्दा बढी प्रतिबन्ध लगाउनु पर्दैन । उनले युनाइटेडविरुद्ध दुवै खेलमा खेल्ने अपेक्षा गरेको छु ।’


प्रतिक्रिया दिनुहोस्