सालाहबाट यस सिजन धेरै अपेक्षा गरेको छैन – प्रशिक्षक

लिभरपुल /  जारी सिजन घरेलु लिग इंग्लिस प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिग फुटबलमा उच्च प्रदर्शन गरिहेको क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले यसपटक आफ्ना स्टार खेलाडी मोहमद सालाहबाट धेरै अपेक्षा नलिएको बताएका छन् ।

घरेलु लिगमा शनिबारको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै उनले सालाहबाट गत सिजनको जस्तो उच्च अपेक्षा आफूले नलिएको बताएका हुन् । गएको सिजन उच्च प्रदर्शन गरेका सालाहले सिजनभर कूल ४४ गोल गरेका थिए । उनी प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटसमेत जितेका थिए । यस सिजन सालाहले क्लबका लागि ६ खेल खेलिसकेका छन् । तर, त्यसक्रममा उनले मात्रै २ गोल गरेका छन् । उनी लिगमा गोलविहीन भएको चार हप्ता भइसकेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लोपले सालाह अहिले विशेष परिस्थितिमा रहेको बताए । ‘यो पक्कै पनि संकटको अवस्था हो,’ क्लोपले ठट्टा गर्दै भने, यथार्थमा यो कुनै समस्या होइन । हामीले गत वर्षको जस्तो सालाहबाट गोलको अपेक्षा गरेका छैनौं ।’ उनले अघि थपे– ‘तर, सम्भव भएसम्म उनले धेरै गोल गरुन् भन्ने कामना गर्छौं ।’

यसपटक लिरभरपुल लिगमा पाँच खेलमा शतप्रतिशत अंकसहित लिगको दोस्रो स्थानमा छ । च्याम्पियन्स लिगमा पनि उसले पहिलो खेलमा सहज जित निकालेको छ । यस सिजन लिभरपुललाई प्रिमियर लिग र च्याम्पियन्स लिग दुवैको उपाधि दाबेदार टोली मानिएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्