हेलिकप्टर दुर्घटना भएको १२ वर्ष पूरा, संरक्षण दिवसमा मृतकहरुको सम्झाना

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ७  असोज / ताप्लेजुङमा संरक्षण दिवसका दिन विशिष्ट संरक्षणकर्मीहरुको सम्झाना गरिएको छ । आइतबार आजभन्दा १२ वर्षअघि असोज ७ गतेको दिन जिल्लाको हिमाली गाउँ फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्साको फलेमा हेलिकप्टर दुर्घटना भई ज्यान गुमाउन पुगेका संरक्षणकर्मीसहित विशिष्ट व्यक्तित्वहरुको सम्झाना गरिएको हो ।
सदरमुकाम फुङ्लिङस्थित भिन्तुनाडाँडामा संरक्षणकर्मीहरुको सम्झानामा उहाँहरुको सालिकमा माल्यार्पण गरिएको छ । स्थानीय वातावरण संरक्षण तथा विकास मञ्च (ईसीडीएफ) को समन्वयमा भिन्तुनाडाँडामा भेला भएर पूर्व सांसद तिलकुमार मेन्याङ्बोसहित ईसीडीएफका पदाधिकारी, सञ्चारकर्मी लगायतले मृतकहरुको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

                आइतबार १३ औं संरक्षण दिवसका दिन संरक्षण शहीदहरुको सालिकमा माल्यार्पण गरिँदै ।

सालिकमा माल्यार्पण गर्दै पूर्व सांसद मेन्याङ्बोले त्यसबेलाको घटनाले अहिले पनि पिरोल्ने गरेको बताउनुभयो । संरक्षण तथा भूगोल शास्त्रका ज्ञाता नेपाल र नेपाल बाहिरका विशिष्ट व्यक्तित्वहरुले ज्यान गुमाउन पुग्दा भएको अपुरणीय क्षति पुगेको उहाँले सम्झाना गर्नुभयो । उहाँहरु जस्ता विद्वान्हरु अब पाउन नसकिने बताउँदै उहाँहरुको सम्झना गर्नु मात्र रहेको मेन्याङ्बोको भनाइ छ । २०६३ साल असोज ७ गते साविक लेलेपको फले ढुङ्जे पहाडमा श्री एयर लायन्सको बिमान (हेलिकप्टर) दुर्घटना हुँदा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जना विशिष्ट व्यक्तित्वहरुको मृत्यु भएको थियो । अन्य मृत्यु हुनेमा राज्यमन्त्रीकी धर्मपत्नी मीना राई, भूगोलशास्त्री तथा विश्व वन्यजन्तु कोषका सल्लाहकार डाक्टर हर्क गुरुङ, विश्व वन्यजन्तु कोषका प्रतिनिधि डा. चन्द्रप्रसाद गुरुङ, विश्व वन्यजन्तु कोष अमेरिकी पूर्वी हिमालय कार्यक्रमका प्रवन्ध निर्देशक मिङ्मानोर्वु शेर्पा हुनुहुन्थ्यो ।

यस्तै राष्ट्रिय निकुञ्ज तथा विश्व वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक एवं एशियाली गैंडा विशेषज्ञ समूहका उपाध्यक्ष डा. तीर्थमान मास्के, नेपालका लागि फिनल्याण्डका कार्यबाहक राजदूत पौली मस्टोनेन, अमेरिकी सहयोग नियोग (युएसएड) का नायव निर्देशक मार्गरेट अलेक्जेण्ड, विश्व वन्यजन्तु कोष बेलायतका संयोजक जेनिफर हेट्ली लगायत देशका प्रशासनिक क्षेत्रका वरिष्ठ अधिकारी, कुटनीतिक नियोग, सञ्चारकर्मी र व्यवसायी समेतले ज्यान गुमाउनुपरेको थियो । जुन बेला नेपालको संरक्षण क्षेत्रमा उल्लेख्य सहयोग पु¥याउँदै आएका र समुदायलाई संरक्षणको मालिक बनाउने दिशामा लामो समयदेखि अभ्यास गरिरहेका र त्यही अभियानमा इटा थप्न घुन्सा पुगेका विदेशी कुटनीतिक तथा संरक्षणविद्हरु समेतले ज्यान गुमाउनुप¥यो ।

यसरी नेपाली आकाशमा समय–समयमा विमान दुर्घटनाका घटनाहरु घट्ने गरेका छन् । दुर्घटनापछि घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय टोली बनाउने गरेको भए पनि अहिलेसम्म यथार्थ कारण पत्ता लाग्न नसकेको बताइएको छ । विशिष्ट २४ जना व्यक्तित्वको ज्यान जानेगरी २०६३ साल असोज ७ गतेको उक्त दुर्घटनाको पनि हालसम्म कारण पत्ता लाग्न सकेको छैन । यस घटनाको छानविन गर्न पनि तत्कालीन पाटन अदालतका न्यायाधीस जनककेशरीराज पण्डितको नेतृत्वमा छानबिन समिति बनेको थियो । तर, समितिले कुनै कारण पत्ता लगाउन सकेन । उक्त दुर्घटना भएपछि भने असोज ७ गतेलाई घटनाको सम्झना स्वरुप संरक्षण दिवसको रुपमा मनाइँदै आएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्