एक दशक पछि बन्यो ताप्लेजुङको दोभानमा पुल

ताप्लेजुङ, ८ आश्विन / ताप्लेजुङको दोभान स्थित तमोर नदीमाथिको पुल आज देखि सञ्चालनमा आएको छ । २०६६ सालमा निर्माण सुरु भएको पुल यो वर्ष सम्पन्न भएको हो । सोमबार बिहान पाँच वटा छ पाङग्रे र दर्जन बढी साना सवारी पुल तरेको उद्योग वाणिज्य संघ दोभान शाखाका अध्यक्ष चन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार पुल तारेर मेरिङदेन, आठराई त्रिवेणी, मैवाखोला गाउँपालिकाका केन्द्र सम्मनै गाडी पुर्‍याइएको छ । बर्सौको प्रतिक्षापछि पुलमा गाडी चल्दा दोभानमा भेलाभएकाहरु उत्साही भएका थिए । युवाहरु मोटरसाइकल लिएर पुल तर्न पुगेका थिए । पुल सञ्चालनमा आएसँगैं ताप्लेजुङ अब मेची र कोसी राजमार्ग दुबैसँग जोडिएको छ । प्रादेसिक संरचना अनुसार दुई निर्वाचन क्षेत्र रहेको ताप्लेजुङको दुई क्षेत्रलाइ पनि यही पुलले जोडेको छ । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाका एउटा बाहेक सबै स्थानीय तह अब सदरमुकाम फुङलिङसँग सडक सञ्जालले जोडिएका छन् ।

मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवामा भने मोटरबाटो पुगेको छैन । यो पुलको सम्झौता २०६६ साल मंसिर ८ गते भएको हो । सडक डिभिजन कार्यालय इलामले गरेको टेण्डरमा कन्काइ, मैनाचुली र याक्थुङहाङ जेभी गरी तीन वटा कम्पनीले टेण्डर पारेका थिए । ११ करोड १६ लाखको टेण्टर माग गरिएकोमा १० प्रतिशत कम १० करोड ३५ लाख ६७ हजारमा दुई वर्षमा सक्ने गरी सम्झौता भएको थियो । पुल निर्माणको प्रगति हेरेर डिभिजन कार्यालयले ६ करोड ७५ लाख रुपैयाँ भुक्तानी दिएपनि ढिलासुस्ती भएपछि ७१ सालदेखि भुक्तानी रोकिएको थियो । यो एकतफी चल्ने ट्रष्ट बिज हो ।


प्रतिक्रिया दिनुहोस्