फिफा ‘द बेस्ट’ अवार्ड  मोड्रीचलाई

लन्डन  /  फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गर्ने गरेको छ । गएराती लन्डनमा आयोजित एक समारोहमा फिफाले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्यो । कसले के उपाधि जिते त?

 

मोड्रीचलाई फिफाको ‘द बेस्ट’ उपाधि, रोनाल्डो र सलाह पछि परे

फिफा ‘द बेस्ट’ अवार्ड रियल म्याड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । यसअघि फिफाले विभिन्न चरण गर्दै शीर्ष तीन खेलाडीको नाम सार्वजनिक गरेको थियो । शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका थिए । मोड्रीचले गत सिजन क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए भने च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका थिए । मोड्रीच फिफा विश्वकपको गोल्डेन बल विजेता पनि रहेका थिए । मोड्रीचले अर्जेन्टिनाविरुद्ध विश्वकपमा स्तरीय गोल गर्दै आफूलाई मिडफिल्डबाट गोल गर्न सक्ने क्षमता अपनी देखाएका थिए ।

रोनाल्डोले च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा त्यस प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा भने रोनाल्डोले खासै राम्रो प्रदर्शन गर्न सकेन । रोनाल्डोले विश्वकपमा स्पेनविरुद्ध गोल गर्नुबाहेक खासै स्तरीय छाप बसाउन सकेनन् । सलाह भने लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए । उनले प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए । उनले पनि राष्ट्रिय टोलीलाई विश्वकपसम्म पुर्याए तर विश्वकपमा भने चोटका कारण राम्रो प्रदर्शन गर्न सकेनन् ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्