टर्कीमा अपहरित नेपालीको फिरौती पाकिस्तान पुग्यो सीआर्इबी प्रमुख भन्छन्,अपहरणकारीहरु पक्राउ पर्छन्

 

२९ माघ, काठमाडौं । टर्कीबाट अपहरणमा परेका ३ नेपाली युवा पाकिस्तानमा फिरौती बुझाएर मुक्त भएका छन् । टर्कीमा बन्धक बनेका नेपालीहरु उनका परिवारजनले करिब १५ लाख रुपैयाँ पाकिस्तान पठाइदिएपछि छुटेका हुन् ।

अपहरणबाट नेपाली युवा मुक्त हुन सफल भए पनि फिरौती तिर्दा लागेको ठूलो रकम डुबेको छ । र, अपहरणकारीहरु समेत जोगिन सफल भएका छन् । अपहरणकारीको पिटाइबाट उनीहरुलाई सामान्य चोटपटक समेत लागेको छ ।

टर्कीमा आफूले रोजगारी गरिरहेकै स्थानबाट अपहरणमा पर्नेहरुमा मोरंगको केराबारी(९ घर भएका किरण मगर, खोटाङको रुपाकोट मझुवागढी ४ घर भएका टीकाराम विश्वकर्मा र ठेगाना नखुलेका टीका लिम्बु छन् ।

१५ दिन अगाडि अपहरणमा परेका उनीहरुलाई अपहरणकारीले फिरौती रकम बुझेपछि मुक्त गरिदिएको र उनीहरु आफ्नो कोठामा फर्किएको पीडितका आफन्तले अनलाइनखबरलाई बताए ।

टर्कीबाट अपहरित किरण मगरकी दिदी मुना मगरले अनलाइनखबरसँग भनिन्, हामीले नेपालबाट फिरौती रकम पाकिस्तान पठाइदिएपछि उनीहरु छुटेका हुन् ।

कसरी भयो अपहरण  ?

किरण र टीकाराम दुवैजना वैदेशिक रोजगारीका लागि टर्की पुगेका थिए । ५ महिनाअघि त्यहाँ पुगेर काम गरिरहेका उनीहरुले पहिलो चरणमा घरमा केही रकमसमेत पठाइसकेका थिए ।

तर, दुवै व्यक्तिलाई केही व्यक्तिले ग्रीसमा राम्रो काम लगाइदिन्छौं र कमाइ पनि बढी हुन्छ भन्दै त्यहाँबाट फकाएर अन्यत्र लगे । र, काम लगाउनुको साटो टर्कीकै कुनै भागमा लगेर उनीहरुलाई राखियो । अपहरित व्यक्तिलाई ग्रिसमा राखिएको छ भन्दै अज्ञात स्थलबाट घरमा सम्पर्क गर्न लगाइयो ।

काम लगाइदिने भन्दै केही दिनसम्म कोठामा राखेपछि बल्ल उनीहरुलाई अपहरणमा परेको थाहा भयो । ‘तिमीहरु अपहरणमा परेका छौ, घरबाट प्रतिव्यक्ति ५ हजार डलर मगाएपछि बल्ल छुट्छौ, नभए ज्यान जान सक्छ’ भन्दै अपहरणकारीले धम्की दिएको पीडितको भनाइ छ ।

पीडितकै म्यासेन्जरबाट नेपालमा सम्पर्क गरेर अपहरणकारीले फिरौती मागे । किरण मगरको मोरङस्थित घरमा किरणकै म्यासेन्जरबाट सम्पर्क गरेर पाकिस्तान पैसा पठाउन भनियो ।

अपहरणकारीले किरण मगरका लागि पाकिस्तानमा मोहम्मद सेहबाज ९आइडी नम्बर ३३१००७०९७४४६७० मा ५ हजार डलर पठाइदिन भनेका थिए ।

त्यस्तै, टीकाराम विश्वकर्माका लागि ग्रीसमा पैसा पठाइदिन भनिएको थियो । अपहरणकारीका तर्फबाट सिराज इन्सार नामक फेसबुक आइडी भएको व्यक्तिले टीकारामका भाइ विज्ञान विश्वकर्मालाई समीर लामामार्फत् भ्वाइस म्यासेज पठाएर फिरौती मागेका थिए ।

किरणको परिवारले तत्कालै फिरौती जम्मा पारे पनि बैंकबाट पाकिस्तान पठाउन सम्भव नभएपछि इण्डिया पठाइदिने बताएका थिए । तर, अपहरणकारीले इण्डियामा सुरक्षा समस्या रहेको भन्दै पाकिस्तान वा दुबई पठाइदिन भनेको किरणकी दिदी मुना मगरले अनलाइनखबरलाई जानकारी दिइन् ।

कतार र काठमाडौंबाट किरण र टीकाराम विश्वकर्माको फिरौती एकैसाथ पठाएको दिदी मुनाले बताइन्

अपहरणकारीले आफ्नो किरण र टीकारामलाई केही घण्टामै पैसा नपठाए ज्यान खतरामा रहेको भन्दै धम्की दिएपछि आफूहरुले कतारबाट ३ हजार रियल पाकिस्तान पठाइदिएको मुनाले जानकारी दिइन् ।

टीकाराम र किरण दुवैको फिरौतीबापत पटक(पटक गरेर १३ हजार कतारी रियल पठाइदिएको उनले बताइन् । तर, केही रकम आफूहरुले नपाएको भन्दै अपहरणकारीले फेरि पठाइदिन भनेको र दोहोर्‍याएर फिरौती पठाएको उनले बताइन् ।

पारिवारिक स्रोतका अनुसार पीडित किरण र टीकारामको परिवारले ३ चरणमा गरी कुल १५ लाख ३६ हजार ९ सय ३५ रुपैयाँ फिरौती बुझाएका छन् । दुर्इमध्ये एक जना पीडितको भागमा ७ लाख ६८ हजार ४ सय ६७ रुपैयाँ ५० पैसा परेको छ ।

आफूहरुले कतार र काठमाडौंबाट किरण र टीकाराम विश्वकर्माको फिरौती एकैसाथ पठाएको मुनाले बताइन् । तर, टीका लिम्बु कसरी छुटे र उनको फिरौती कसले बझायो भन्ने आफूले थाहा नपाएको उनले बताइन् । पहिले दुईजना अपहरणमा परेको र टीका लिम्बु पछि थपिएको उनले भाइलाई उधृत गर्दै सुनाइन् ।

घटनाले परिवारजनलाई दिएको पीडा सम्झँदै मुनाले भनिन्, ‘भाइ अपहरणमा परेको सुनेपछि तीन दिनसम्म त आमा र मलाई निन्द्रै लागेन, कतैबाट फोन आउँदा पनि डरमात्रै लाग्थ्यो । भाइ छुटेपछि बल्ल सन्तोषको सास फेरियो ।’

पाकिस्तान प्रहरीमा उजुरी

यसैवीच, अपहरित टीकाराम विश्वकर्माका आफन्तले नेपालमा परराष्ट्र मन्त्रालयमा दिएको उजुरीका आधारमा पाकिस्तानस्थित नेपाली दूतावासले फिरौती ‘रिसिभ’ गर्ने पाकिस्तानीको खोजी सुरु गरेको छ ।

अपहरणकारीले पैसा पठाउन दिएको व्यक्तिको नाम र आइडी नम्बरका आधारमा पाकिस्तान प्रहरीले उनीहरुको खोजी सुरु गरेको र पक्राउ गरी फिरौती रकम फिर्ता गराउने प्रयास गरिरहेको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

स्रोतले भन्यो, ‘हामीले नेपालबाट प्राप्त सूचनाहरु पाकिस्तान प्रहरीलाई दिइसकेका छौं र उनीहरुले अपराधीको खोजी भइरहेको जानकारी दिएका छन् ।’

अपहरणकारी पक्राउ पर्छन्ः प्रहरी

यसैवीच, टर्कीमा नेपालीहरुलाई अपहरण गर्ने व्यक्तिहरु चाँडै पक्राउ पर्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआर्इबी) का प्रमुख डीआर्इजी पुष्कर कार्कीले अनलाइनखबरलाई बताए ।

‘यो केस इन्टरपोलमा पुगिसकेको छ,’ कार्कीले अनलाइनखबरसँग भने, टर्कीमै रहेका भए पनि अब ती अपहरणकारीहरु चाँडै पक्राउ पर्छन् । तिनीहरु उम्कने छैनन् ।’


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961