चाडपर्वमा बजार खुल्ला

प्रयास लिम्बू

ताप्लेजुङ, १२  असोज / नजिकिँदो दसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गरी प्रत्येक हप्ताको शुक्रबार बन्द हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङबजार खुल्ला गरिएको छ । ताप्लेजुङ उद्योग बाणिज्य सङ्घले शुक्रबार आजैदेखि लागू हुनेगरी बजार खुल्ला गरेको हो ।

दसैं तिहार तथा छठ जस्ता चाडपर्वमा सर्वसाधारण उपभोक्ताका लागि आपूmलाई आवश्यक पर्ने सामग्रीहरु किनमेल गर्नमा सहज होस भन्ने उद्देश्य राखी बजारलाई खुल्ला गरिएको ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले बताउनुभयो । दसैं पर्व आउनलाई तीन साता बढी समय बाँकी छँदैदेखि उपभोक्ताहरुले सर–सामान किनमेल तथा जोहो गर्न थालेकाले बजार खुल्ला गरिएको अधिकारीको भनाइ छ ।

यस्तै चाडपर्वका लागि फुङ्लिङ बजार खुल्ला गरिएसँगै शुक्रबारदेखि नै विशेष सहुल्यतमा सामान बिक्री गर्न थालेको पनि अधिकारीले जानकारी दिनुभयो । चाडपर्वका अवसरमा उपभोक्तालाई सहुल्यत दिने उद्देश्यले उद्योग बाणिज्य सङ्घले नै निर्णय गरेर छुटसहितको मूल्य निर्धारण गरी सोहीअनुसार बिक्री÷वितरण गर्न आफ्ना सबै सदस्य व्यवसायीहरुलाई आग्रह गरिएको पनि उहाँले बताउनुभयो ।

यसरी खुल्ला गरिएको बजार दसैं, तिहार र छठ पर्वपछि आगामी कात्तिकको अन्तिम शुक्रबार अर्थात ३० गतेसम्म कायम रहने बाणिज्य सङ्घले जनाएको छ । चाडपर्वहरु सम्पन्न भएलगत्तै पुनः साविकबमोजिम नै प्रत्येक शुक्रबार फुङ्लिङ बजार बन्द हुने सङ्घले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्