डिफेन्डिङ च्याम्पियन नेपाल बंगबन्धु गोल्डकपका लागि आज बंगलादेश जाने

काठमाडौं /    बंगलादेशमा हुन लागेको बंगबन्धु गोल्डकपमा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गर्दैछ ।


अघिल्लो पटक च्याम्पियन बन्दा ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये २५ हजार डलर मात्रै पाएपछि नेपालले पुरा रकम नआउँदा सम्म भाग नलिने अडान लिएको थियो । तर, अन्तिम समयमा पूरा रकम पाएपछि एन्फाले ढिला गरी बंगबन्धु गोल्डकप खेल्ने निश्चित गरेको थियो । बंगबन्धुमा सहभागिता जनाउने भएसँगै धन्डै पाँच वर्षपछि शुरु भएको शहिद स्मारक ‘ए’ डिभिजन लिग प्रभावित हुने भएको छ ।

नेपालले बंगबन्धु गोल्डकपको लागि अघिल्लो साताबाटै प्रशिक्षण शुरु गरेको थियो । डिफेन्डिङ च्याम्पियन नेपाल बंगबन्धु गोल्डकपको समूह ‘ए’ मा रहेको छ । नेपालले प्यालेस्टाइन र ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसँग अक्टोबर ६ मा खेल्नेछ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । गोल्डकप असोज १५ देखि २६ गतेसम्म ढाका, सिलेट र कक्स बजारमा हुदैछ ।

एन्फाले गत सोमबार मात्रै बंगबन्धु गोल्डकपका लागि २० सदस्यीय टोलीको घोषणा गरेको थियो । बंगलादेशमै भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको नेपाली टोलीमा यसपटक २ खेलाडी मात्र परिवर्तन भएका छन् । व्यवसायिक फुटबलका लागि नेपाली टोलीका पहिलो रोजाईका गोलकिपर माल्दिभ्स र मिडफिल्डर रोहित चन्द इन्डोनेसिया रहेका कारण उनीहरुको ठाँउमा गोलकिपर विशाल श्रेष्ठ र रक्षक तेज तामाङलाई टोलीमा समेटिएको छ ।

नेपाली राष्ट्रिय टोली
गोलकिपर- विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ
रक्षक- दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ, सुमन अर्याल
मिडफिल्ड- हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का
फरवार्ड- भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट


प्रतिक्रिया दिनुहोस्