पोखरा प्रिमियर लिग अक्सनमा सबैभन्दा महँगा खेलाडी बने शक्ति गौचन

काठमाडौं, १४ असोज । पोखरा प्रिमियर लिग (पीपीएल ) को अक्सनमा नेपालका अनुभवी क्रिकेट खेलाडी शक्ति गौचन महँगा खेलाडी बनेका छन् ।पहिलो चरणमा कसैले नकिनेका अनुभवी क्रिकेट खेलाडी शक्ति गौचन अन्तत स् पोखरा प्रिमियर लिग पीपीएलका महँगा खेलाडीका रूपमा विक्री भएका छन्। क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा कात्तिक ९ गतेदेखि २० सम्म पोखरामा हुने फ्रेन्चाइज लिग क्रिकेटका लागि आइतबार भएको अक्सनमा शक्तिलाई सबैभन्दा महँगा खेलाडि बनेका हुन् । उनले गौचनलाई चितवन राइनोज क्लबले २ लाख ६२ हजार ५ सय रुपैयाँमा खरिद गरेको हो।

आफ्नो मूल्य आफैँले राख्ने पाउने नयाँ प्रावधान अनुसार शक्तिले आफ्नो न्यूनतम मूल्य २ लाख १० हजार रुपैयाँ तोकेका थिए । प्रतियोगिताको नियम अनुसार कुनै पनि क्लबले १३ लाख रुपैयाँभित्र १० खेलाडी किन्नुपर्ने थियो । तर चितवनले नौ जना खेलाडी किन्दा १२ लाख ८० हजार खर्च गरिसकेको हुँदा बचेको २० हजार रुपैयाँमा गौचनलाई किन्न पैसा पुगेन । त्यस्तो अवस्थामा २५ प्रतिशत जरिवाना तिरेर खेलाडी किन्न पाउने वैकल्पिक प्रावधान अपनाएर पारस खड्काको टोलीले गौचनलाई नै आफनो टिममा भि¥याए ।

२५ प्रतिशत जरिवाना तिर्दा उनको मूल्य २ लाख ६२ हजार ५ सय पुगेको हो । जसमा गौचनले २ लाख १० हजार र जरिवानाको ५२ हजार ५ सय आयोजकले पाउनेछन् । डेढ दशकभन्दा बढी समय नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख खेलाडीका रूपमा खेलेका गौचनले हालै मात्र राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन् । उनले विगतमा फ्रेन्चाइज प्रतियोगिताहरुमा क्लबको कप्तानी गर्दै आएका थिए । गौचनलाई महँगो मूल्य तिरेर भए पनि पीपीएलमा समावेश गर्नुलाई उनको सम्मानको रूपमा धेरैले अर्थ्याएका छन्।

यस्तै अक्सनमा सातजना खेलाडी २ लाख ५० हजारमा अनुबन्धित भए । जसमा बसन्त रेग्मी, करण केसी, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, रोहित पौडेल र अनिलकुमार शाह छन् । आइतवार भएको लिलाम बढाबढमा १ सय ७८ खेलाडीमाथि बोली लागेकोमा अधिकांश क्लबको छनोटमा सिनियर खेलाडी नै परेको देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्