मेस्सीलाई राष्ट्रिय टोलीबाट सन्यास लिन सुझाव – म्याराडोना

असोज १५,  /   लिजेन्ड फुटबलर डिएगो म्याराडोनाले आफ्नो देशका कप्तानसमेत रहेका लिओनल मेस्सीलाई राष्ट्रिय टोलीबाट सन्यास लिन सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार म्याराडोनाले मेस्सीलाई अब देशका लागि नखेल्न भन्दै सुझाव दिएका हुन् ।

अर्जेन्टिना रसिया विश्वकप फुटबलमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसयता मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छैनन् । न त उनले सन्यास नै घोषणा गरेका छन् ।

यसैबेला म्याराडोनाले यस्तो सुझाव दिएका हुन् । ‘मैले मेस्सीलाई के भन्ने ? उनी मान्छन् भने सन्यास लिन भन्छु,’ म्याराडोनाले भनेका छन्, ‘उनले आफूमाथि लाग्ने गरेको आरोप गलत हो भनेर साबित गर्न पनि सन्यास लिँदै राम्रो हुन्छ ।’

म्याराडोनाले जहिल्यै अर्जेन्टिना हार्दा र उपाधि जित्न नसक्दा मेस्सीलाई मात्रै दोष दिइने गरेको बताउँदै मेस्सीले त्यसबाट मुक्ति पाउनुपर्ने बताए ।

‘यहाँ अर्जेन्टिनाको यु–१५ टोली हार्दा पनि मेस्सीलाई नै दोष दिइन्छ । जित्दा राम्रो, हार्दा मेस्सी मात्रै खराब ?,’ उनले प्रश्न गरे, ‘मेस्सी नै समस्या हुन् भने उनले सन्यास लिऊन् । र, हामी अर्जेन्टिनी फुटबल महासंघको दम हेर्छौं ।’

म्याराडोनाले अर्जेन्टिना सफल नहुनुमा मेस्सी समस्या हुन् भन्ने सोच नै गलत भएको बताए । ‘अर्जेन्टिना असफल हुनुको दोष मेस्सी मात्रै हैनन्, मेस्सीलाई सधैं अपराधीजस्तो व्यवहार गरियो, यो गलत छ,’ म्याराडोनाले थपे, ‘मेस्सीले मान्छन् भने म उनलाई अब राष्ट्रिय टोलीमा नफर्किन भन्छु ।’एजेन्सी


प्रतिक्रिया दिनुहोस्