पाथीभरा पदमार्गको स्तरोन्नति गरिँदै

प्रयास लिम्बू

ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गको स्तरोन्नति गर्न थालिएको छ । वर्षेनी बढ्दो तीर्थालुको आगमनलाई लक्षित गरी पदमार्गको स्तरोन्नतिको कार्य गरिँदै आएको हो । यसवर्ष मात्रै पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले साढे पाँच सय मिटर बराबर पदमार्गको स्तरोन्नति गरेको छ ।


तीन मिटर चौडाइ रहेको साढे पाँच सय मिटर बराबर दुरीको पदमार्ग स्तरोन्नति कार्य सम्पन्न गर्नलाई कुल आठ लाख ५२ हजार रुपियाँ रकम खर्च भएको समितिका उपाध्यक्ष नारायण थापाले जानकारी दिनुभयो । थापाका अनुसार भर्खरै सम्पन्न गरिएको पाथीभरा पदमार्गलाई ढुङ्गाको सोलिङ गरी स्तरोन्नति गरिएको छ यसअघि समितिले पाथीभरा क्षेत्र विकास समितिसँगको आर्थिक साझेदारी तथा नेपाली सेनाले उपलब्ध गराएको श्रमदान सहयोगमा पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि माथिल्लो भागमा रहेको पदमार्गको स्तरोन्नतिको कार्य गरिएको थियो ।

क्रमशः पाथीभरा क्षेत्र विकास समितिले पनि उक्त पदमार्गमा सोलिङ गरी स्तरोन्नति गरेका र बाँकी रहेको सबै क्षेत्रमा संरक्षण तथा सम्वद्र्धन समितिले स्तरोन्नतिको कार्य पूरा गरेको पनि समिति उपाध्यक्ष थापाले जानकारी दिनुभयो । काफ्ले पाटी देखि माथिल्लो भाग हुँदै कान्छीथान र मन्दिर प्रवेशद्वारसम्म नै विभिन्न ठाउँमा बिश्रामस्थल समेत बनाइएका समितिले जनाएको छ । मोटो रकमको लगानीमा पदमार्गको स्तरोन्नतिसँगै अब सोह्र श्राद्धको समय सकिए लगत्तै पाथीभरा जाने तीर्थालुको चाप अत्यधिक बढ्ने भएकाले पदमार्ग सुरु हुनुअघिको पाथीभरा सडकको समेत मर्मत तथा सम्भारको कार्य भइरहेको बताइएको छ ।


पाथीभरा जाने सडक कच्ची रहेकाले वर्षादको समयमा बिग्रेको सडकको मर्मत तथा स्तरोन्नतिको कार्य हाल धमाधम भइरहेको समितिले जनाएको छ । संरक्षण समिति र पाथीभरा भेटीपाति व्यवस्थापन समितिको अगुवाइमा कच्ची सडक रुँघालु तथा जनस्तरबाट सम्पन्न गर्न सकिने कामलाई बनाउन १२ जना बढी मजदुर नियमित परिचालन गरिएको छ । परिचालित भएका मजदुरले अहिले बिग्रेको सडक नबाउने, सडकमा अवरोध आएमा हटाउने, नाली तथा ढलमा अवरोध आए सोलाई पनि हटाई पानीको निकास दिने, गाडी चढ्न नसक्ने ठाउँमा ढुङ्गा तथा गेँगरले पुरेर सडक सम्याउने जस्ता कार्य गर्ने गरेका समितिका कार्यालय सचिव नवीन निरौलाले जानकारी दिनुभयो ।

त्यसैगरी यसवर्ष पाथीभरा सिजनमा तीर्थालुका तत्कालका गुनासा तत्कालै सम्बन्धित निकायमा पु¥याउन तथा पाथीभराका बारेमा सर्वसाधारणलाई जानकारी दिन काफ्लेपाटीमा सूचना वितरण एवम् सहयोग केन्द्र स्थापना गरिएको छ । फुङ्लिङ नगरपालिकाले बनाएको उक्त संरचनामा ताप्लेजुङ उद्योग बाणिज्य सङ्घ, संरक्षण समिति र क्षेत्र विकास समितिबाट सहयोगी कार्यकर्ता परिचालन हुने बताइएको छ । हिजोआज पनि पाथीभराको दर्शनका लागि तीर्थालुको आगमन भइरहे पनि दर्शनार्थीको चाप भने नवरात्र सुरु भएपछि हुने गर्दछ ।सोलिङ गरी स्तरोन्नति गएको पाथीभरा पदमार्ग ।

 


प्रतिक्रिया दिनुहोस्