ताप्लेजुङका २७ वटा वडामा अलैँची जोन कार्यक्रम

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङका पाँच स्थानीय तहका २७ वटा वडाहरुमा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । अलैँची जोन क्षेत्र निर्धारणका लागि शुक्रबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटार ललितपुरले आयोजना गरेको कार्यक्रमले फुङ्लिङ नगरपालिका र मैवाखोला गाउँपालिकाका सबै क्षेत्र तथा फक्ताङ्लुङ गाउँपालिकाका ७ वटा वडामध्ये एउटा बाहेक सबै वडामा अलैँची जोन कार्यक्रम लागू गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकमा सहभागी फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा) ले फुङ्लिङका ११ वटा वडा, मैवाखोला गाउँपालिकाका ६ वटा तथा फक्ताङ्लुङ गाउँपालिकाका ७ मध्ये वडा नं. ७ ओलाङ्चुङगोला बाहेक बाँकी ६ वटा वडा, आठराई त्रिवेणीको वडा नं. ४ र ५ तथा मेरिङ्देन गाउँपालिकाको वडा नं. १ र २ गरी जिल्लाभरका २७ वटा वडामा अलैँची जोन कार्यक्रम लागू हुने निर्णय भएको जानकारी दिनुभयो । जिल्लाभर ६१ वडा रहेका र ओलाङ्चुङगोलामा मात्र अलैँची उत्पादन नहुने बताइन्छ ।

 


प्रतिक्रिया दिनुहोस्