रोनाल्डो किन राष्ट्रिय टोलीमा परेनन् ?

लिस्बन / अक्टोबरमा हुने दुई अन्तर्राष्ट्रिय खेलहरुका लागि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा परेका छैनन्। सेप्टेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नखेलेका रोनाल्डो यसपटक पनि टोलीमा नपर्नुमा धेरैले जिज्ञासा राखेका छन् ।

अघिल्लो साता मात्र एक अमेरिकी युवतीले सन् २००९ को घटनालाई लिएर उनमाथि बलात्कारको आरोप लगाएकाले धेरैले उनी राष्ट्रिय टोलीबाट नखेल्नुलाई यस घटनासँग जोडेका छन् । तर पोर्चुगलको पत्रिका ए बोला का अनुसार रोनाल्डो राष्ट्रिय टोलीमा नपर्नुमा उनको व्यक्तिगत निर्णय रहेको छ। रोनाल्डोले पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोससँग उनलाई २०१९ को सुरुआतसम्म राष्ट्रिय टोलीबाट विश्राम दिन अनुरोध गरेको ए बोला ले जनाएको छ।

रियल म्याड्रिडबाट युभेन्टस पुगेका रोनाल्डोले नँया क्लबमा पूर्ण रुपमा फिट हुँदै शत प्रतिशत दिनका लागि केही समय पोर्चुगली टोलीबाट टाढिने निर्णय लिएका हुन्। ए बोला का अनुसार ३३ वर्षे रोनाल्डोको यो अस्थायी निर्णय रहेको र सन्यास लिने कुनै मनसाय नरहेको जनाएको छ।

यसकारण सेप्टेम्बरमा क्रोएसियासँगको खेलमा विश्राम पाएका रोनाल्डो पुनः ओक्टोबरमा पोल्याण्ड र स्कटल्याण्डविरुद्ध खेल्ने टोलीमा परेनन्। २०१८ मै पुनः पोल्याण्ड र इटालीसँगको खेलमा पनि रोनाल्डो नखेल्ने ए बोला को दाबी छ। पोर्चुगलबाट १ सय ५४ खेलमा ८५ गोल गरि सकेका रोनाल्डोले विश्वकप यता पोर्चुगलबाट खेलेका छैनन्।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्