कार्डिफ सिटीलाई हराउँदै टोटेनहम तेस्रो स्थानमा

वेम्वली (एजेन्सी ) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर विजयी भएको छ । प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटेनहमले कार्डिफ सिटीलाई १–० ले पराजित गरेको हो । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा टोटेनहमलाई जिताउन इरिक डाएरले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको आठौं मिनेटमा इरिकको गोलबाट टोटेनहमले अग्रता बनाएको थियो । अन्ततः त्यही गोल नै टोटेनहमको जितमा पर्याप्त बन्यो ।

खेलको ५८औं मिनेटमा भ्रमणकारी टोली १० खेलाडीमा समेटिएपनि टोटेनहमले त्यसको थप फाइदा उठाउन सकेन । लुकास मौरामाथि अनावश्यक ट्याकल गरेपछि रेफ्रीले कार्डिफका राल्सलाई सोझै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । तर, १० खेलाडीमा समेटिएपनि कार्डिफले उच्च प्रदर्शन गरेको थियो ।

जितपछि टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको टोटेनहमको ८ खेलबाट १८ अंक पुगेको छ । उसले चेल्सीलाई १ अंकले पछि पारेको हो । लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी र दोस्रो स्थानमा लिभरपुल रहेको छ । दुवै टोलीको समान १९ अंक भएपनि सिटी गोल अन्तरमा शीर्ष स्थानमा रहेको हो । टोटेनहमसँग पराजित कार्डिफ २ अंक जोडेर लिगको पुछारमा यथावत छ ।

प्रिमियर लिगका अन्य नतिजाहरु

ब्राइटन एन्ड होभ अल्वियोन विरुद्ध वेस्टह्याम युनाइटेड

(१–०) बर्नली विरुद्ध हडर्सफिल्ड टाउन (१–१)

क्रिस्टल प्यालेस विरुद्ध वल्भरह्याम्पटन (०–१)

लेस्टर सिटी विरुद्ध एभर्टन (१–२)

वाटफोर्ड विरुद्ध एएफसी बर्नमाउथ (०–४)

म्यानचेस्टर युनाइटेड विरुद्ध न्यु क्यास्टल युनाइटेड (३–२)


प्रतिक्रिया दिनुहोस्