ताप्लेजुङमा निःशुल्क शिविर सञ्चालन हुँदै

प्रयास लिम्बू
ताप्लेजुङ, असोज / इटालीका चारसहित नेपालका १६ बढी मुटुरोग विशेषज्ञले स्वास्थ्योपचार गर्नेगरी ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा आउँदो कातिक १६ र १७ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविर सञ्चालनमा सरोकारवालाको भूमिका खोज्न र स्थानीय व्यवस्थापन समितिलाई कार्यदेश अवगत गराउन राजधानी काठमाडौंबाट आइपुगेको कार्यदलले शिविर पूर्वी क्षेत्रमै सबैभन्दा बृहत्त हुन लागेकोले यसको तयारी समेत गतिशील बनाउनुपर्ने बताएको छ ।


‘यो तह र योजनाको स्वास्थ्य शिविर पूर्वमै पहिलो र ठूलो हुने छ’ शिविर व्यवस्थापनका लागि काठमाडौंमा बनेको समिति संयोजक अग्नि पौडेलले भन्नुभयो । संयोजक पौडेल र सहसंयोजक चैतन्य तुम्बाहाम्फे सहितको टोली शिविरको व्यवस्थापन र तयारीको पहिलो चरणको कार्यका लागि ताप्लेजुङ आइपुगेको छ । ताप्लेजुङ सरोकार केन्द्रका उपमहासचिव समेत रहनुभएका पौडेललाई शिविर व्यवस्थापन कार्यका लागि राजधानीमा बनेको कार्यदल संयोजक बनाइएको छ । सरोकार केन्द्र जन्मघर ताप्लेजुङ भई पेशा व्यवसायको सिलसिलामा राजधानी काठमाडौं बस्ने ताप्लेजुङेहरुको छाता संस्था हो ।
सदरमुकाम फुङ्लिङको शिविर सञ्चालन तथा व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा यहाँका ९ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा सरोकारवाला संस्थाका प्रमुख सदस्य रहेको समिति बनाइएको छ । ‘समन्वय प्रमुखको संयोजकत्वमा बनेको समितिले शिविर सञ्चालनका तथा व्यवस्थापनका लागि कार्ययोजना बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी पाएको छ’ पौडेलले भन्नुभयो । उहाँका अनुसार शिविर सञ्चालन तथा व्यवस्थापनका लागि बिभिन्न उपसमिति बनाइएको छ ।
उपसमितिलाई आफ्नो जिम्मेवारीको न्यूनतम् कार्यादेश दिएको र अधिकतम् जिम्मेवारी उपसमिति आफैंले तय गर्ने समेत पौडेलले बताउनुभयो । यहाँबाट प्रतिनिधिसभाका निर्वाचित सांसद योगेशकुमार भट्टराईको पहलमा शिविर सञ्चालन हुन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा राजधानीमा गठित शिविर कार्यदलले जानकारी दिएको छ । शिविरमा मुटु, हाडर्जोनी, गाइनो लगायतका उपचार हुने कार्यदल संयोजक पौडेलले बताउनुभयो । सेभ द हर्ट अर्थात मुटु बचाउ अभियानका अभियन्ता रत्न थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका वरिष्ठ मुटुरोग बिशेषज्ञको उपस्थितिमा बिरामीले प्रत्यक्ष स्वास्थ्य लाभ पाउने भएकोले शिविर सोचेभन्दा खास रहने बताउनुभयो ।
उहाँका अनुसार शल्यक्रिया सहितका सेवा दिनुपर्ने रोगीको पहिचान भएमा राजधानी लगेर बिरामीको उपचार गरिने छ । ‘राजधानी लैजानुपर्ने प्रकृतिका मुटुरोगी फेला परे लाने–ल्याउने र उपचारको बन्दोबस्ती खर्च समेत सेभ द हर्ट संस्थाले व्यहोर्ने छ’ थापाले भन्नुभयो । सेभ द हर्ट संस्थाको अगुवाई वरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर अनिल भट्टराईले गर्दै आउनुभएका छन् ।


प्रतिक्रिया दिनुहोस्