गान्धीको १५०औँ जयन्ती दुई वर्षसम्म मनाइने

काठमाडौँ, २२ असोज / गान्धी दर्शनको महत्व वर्तमान सन्दर्भमा अझ बढेर गएकामा जोड दिइएको छ । गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेपालको शान्तिपूर्ण रुपान्तरणमा गान्धीको सान्दर्भिकता’ विषयक कार्यक्रममा प्रथम राष्ट्रपति डा रामवरण यादवले उहाँको योगदानको मूल्याङ्कन गर्दै संयुक्त राष्ट्र सङ्घले २ अक्टोबरलाई विश्व अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको सुनाउनुभयो ।

“प्रकृतिलाई बचाएर अन्य काम गरिनुपर्छ भन्ने गान्धी दर्शनको मूल भाव हो, नेपालको चुरे विनाश भए तराई क्षेत्र मरुभूमि बन्छ । चुरे र तराईमा नेपालको जनसङ्ख्याको ६० प्रतिशत जनता बसोबास गर्छन् । चुरेको बीचबाट राजमार्ग बनाउनुु प्रकृति मैत्री हुँदैन,” उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भारतमा अहिंसाको जगबाट आएको प्रजातन्त्र दिगो भएको बताउनुभयो । “गान्धीले स्वाधीनता र स्वराज्य मेरो हो भन्ने भावना झुपडीका जनतामा जगाउनुभएको थियो, उहाँले राजनीतिमा नैतिकताको प्रवेश गराउनुभएको थियो, विश्व नै एक दिन गान्धीको बाटोमा हिँड्न बाध्य हुन्छ,” उहाँले भन्नुभयो ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले गान्धीले खराबीका विरुद्ध लड्ने अस्त्रका रुपमा सत्याग्रहलाई उपयोग गर्नुभएको सुनाउनुभयो । “जसका विरुद्ध लडिन्छ त्यसलाई घृणा नजगाई प्रेमपूर्ण तरिकाले गर्नु नै गान्धी दर्शन हो, नयाँ पुस्तामा गान्धी दर्शनको प्रसार गर्नु अहिलेको आवश्यकता बनेको छ,” उहाँले भन्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप गिरीले नेपालमा राजनीतिक परिवर्तनपछि आधारभूत संरचनामा बदली हुन नसकेकाले एउटी किशोरीको बलात्कारको मुद्दामा राज्य किंकर्तव्यविमूढ बनेको बताउनुभयो । सत्ता हस्तान्तरण भए पनि राज्य रुपान्तरण हुन नसकेकाले अहिलेका अनेका समस्या आइपरेको उहाँको भनाइ थियो ।

केन्द्रका अध्यक्ष दीपकुमार उपाध्यायले दुई वर्षसम्म गान्धी जयन्ती मनाउने तयारी गरिएको बताउनुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले गान्धीको अहिंसाको सन्देश फैल्याउन १५०औँ जन्मजयन्ती दुई वर्षसम्म विश्वभर मनाइने जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रका महासचिव शेखर गिरीलगायतले गान्धीको योगदानको चर्चा गर्नुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्