पाँचथरमा नेकपा को जिल्ला पार्टी कार्यालय स्थापना

काठमाडौँ, २२ असोज / पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा एमाले जिल्ला कमिटी पाँचथरको कार्यालयमा नेकपा पाँचथरको कार्यालय स्थापना गरिएको हो ।

आज आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले नेकपाको झण्डा उठाई पार्टी कार्यालयको उद्घाटन गर्नुभयो । गत जेठ ३ गते एकता भएका एमाले र नेकपा माओवादी केन्द्रको जिल्ला तहमा एकता प्रक्रिया पूरा भएको छैन । एकता प्रक्रिया पूरा नहुँदा पार्टी गतिविधि सञ्चालनमा समस्या सिर्जना भएकाले प्रदेश कमिटीको निर्देशनबमोजिम पार्टी कार्यालय स्थापना गरिएको नेकपाका जिल्ला नेता एवं तत्कालीन माओवादी केन्द्र पाँचथरका इञ्चार्ज हर्कबहादुर नेम्वाङले जानकारी दिनुभयो ।

पाँचथरमा जिल्ला कमिटी तथा मातहतका कमिटीको एकताका लागि प्रदेश कमिटीले बनाएको आठ सदस्यीय कार्यदलले एकताको खाका बनाइरहेको केन्द्रीय सदस्य सम्बाहाम्फेले जानकारी दिनुभयो । एकता कार्यदलले नेकपाका स्थानीय कमिटी, पेशागत, भ्रातृ तथा जनवर्गीय सङ्गठन, विभाग तथा मोर्चाको जिल्ला कमिटीको खाका तयार पारी प्रदेश कमिटीमा सिफारिश गरिने उहाँले जानकारी दिनुभयो ।

आठ सदस्यीय कार्यदलमा केन्द्रीय सदस्य सम्बाहाम्फेसहित जिल्ला नेता हर्कबहादुर नेम्वाङ, राजकुमार भण्डारी, विशाल रसाइली, होमबहादुर जबेगू, भुवानीप्रसाद लिङ्देन, दिनेश लावती र तीवेन्द्रराज चापागार्इं रहनुभएको छ । कार्यदलले बुधबारसम्ममा एकताको खाका तयार पारी प्रदेश कमिटीमा सिफारिश गर्ने जिम्मेवारी पाएको केन्द्रीय सदस्य सम्बाहाम्फेले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्