स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ज्ञापनपत्र

प्रयास लिम्बू
ताप्लेजुङ, असोज / स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेका सम्पतिको राष्ट्रियकरण गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यलय ताप्लेजुङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपाल नेतृत्वको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।

पछिल्लो समय भ्रष्टाचार मौलाउँदै गइरहेको अवस्थामा स्रोत नखुलेका सबै सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग गरिएको छ । ज्ञापनपत्रमा नेपालमा भएका नेता, कर्मचारी, मन्त्री, जनप्रतिनिधि लगायत सबै पक्षको स्रोत नखुलेको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्नुपर्ने, सबै सेवानिवृत, पूर्व–प्रशासन तथा राजनीतिकर्मीका आजीवन भत्ता र सुविधाहरु बन्द गर्नुपर्ने माग गरिएको छ ।

यस्तै महिला तथा बालबालिकाको सम्मान र मर्यादायुक्त जीवनयापन गर्न सक्ने सुरक्षित वातावरणको प्रत्याभूत गर्नुपर्ने, बढ्दो सबै बलात्कारका घटनाउपर यथाशिघ्र अनुसन्धान गरी दोषीलाई पत्ता लगाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सरकार गठन प्रक्रियामा सांसदको बहुमतम नभई मतदाताको साधारण बहुमत ५१ प्रतिशत हुनुपर्ने व्यवस्था लगायतका विभिन्न १२ बुँदे मागसहितको ज्ञापनपत्र अभियान टोलीले सरकारलाई बुझाएको हो ।

यता प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुअघि सडकमै पत्रकार सम्मेलन गर्दै नेपालमा भ्रष्टाचार र बेथिति मौलाउँदै गएकाले यसलाई न्यूनिकरण गर्नका लागि अभियान सञ्चालन गरिएको संयोजक नेपालले जानकारी दिनुभयो । सडक तथा खुल्ला ठाउँमा भेटिएका नागरिकलाई भ्रष्टाचार, बलात्कार जस्ता अनियमितता र बेथितिक।े उन्मुलन गर्न नागरिक नै सचेत हुनुपर्ने, सतर्कता अपनाउनुपर्ने आदि सुझावहरु दिँदै आएको पनि उहाँले बताउनुभयो ।

टोलीले फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलमा पुगेर बलात्कार तथा हिंसा न्यूनिकरणबारे सचेतना कार्यक्रम समेत सञ्चालन गरेको छ । छोटो समयको कार्यक्रममा बलात्कार घटना विरुद्ध आत्मरक्षा गर्ने तरिका, भ्रष्टाचार न्यूनिकरण र अन्य हिंसाजन्य घटनाको निराकरणसम्बन्धी नागरिकका भूमिकाबारे सचेतना गराएको टोली संयोजक नेपालले जानकारी दिनुभयो ।

गत असोज १६ गतेदेखि सुरु गरेको अभियान देशका ७७ वटै जिल्लामा पुगेर सञ्चालन गर्ने र मागअनुसार सरकार तदरुकता नदेखाए अभियान टोलीले नै सबै भ्रष्टाचारीहरुको नाम तथा तथ्याङ्क सार्वजनिक गर्ने, अवैध तथा स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने मागको पक्षमा सवोच्च अदालतमा मुद्दा दर्ता लगायतका कार्यक्रम गर्ने समेत स्वतन्त्र राष्ट्रिय अभियान नेपालले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्