सुकेटारमा अढाइ महिनापछि उडान

प्रयास लिम्बू
ताप्लेजुङ, असोज । ताप्लेजुङको सुकेटार बिमानस्थलमा करिव अढाइ महिनापछि उडान सुरु भएको छ । मङ्गलबार समिट एयरको जहाजले पहिलो पटक उडान सुरु गरेको हो । प्रत्येक साताको मङ्गलबार एक दिन उडान सञ्चालन गर्ने योजनाका साथ समिट एयरले उडान सुरु गरेको हो ।


समिट एयरका ताप्लेजुङस्थित स्टेशन इन्चार्ज प्रकाश शेर्पाले नजिकिएको दसैं तिहारको अवसर पारेर काठमाडौं–ताप्लेजुङ सीधा उडान सुरु गरेको जानकारी दिनुभयो । शेर्पाले पहिलो दिन मङ्गलबार काठमाडौंदेखि १६ जना यात्रु लिएर सुकेटार विमानस्थलमा समिटको जहाज अवतरण भएको बताउनुभयो । उहाँले सातामा एक उडान गर्ने कार्यतालिका भएपनि यात्रुको चापलाई ध्यानमा राखी आउँदो शनिबार पनि उडान भर्ने तयारी रहेको जानकारी दिनुभयो ।

यता नेपाल वायु सेवा निगमले पनि बुधबार आजदेखि उडान सञ्चालन गर्ने जनाएको छ । निगमका ताप्लेजुङस्थित स्टेशन इञ्चार्ज विकास राईले बुधबार बिहानको काठमाडौं–ताप्लेजुङ उडान गर्ने समय तय भएको जानकारी दिनुभयो । काठमाडौंदेखि यात्रु लिएर निगमको जहाज आउने र यहाँदेखि पनि काठमाडौं जानेगरी यात्रुले टिकट लिइसकेका राईले बताउनुभयो ।

खराब मौसम तथा जहाज अभाव रहेको कारण देखाउँदै नेपाल वायु सेवा निगमले गएको साउन दोस्रो सातादेखि सुकेटार बिमानस्थलमा उडान बन्द गरेको थियो । चाडपर्वलाई समेत ध्यानमा राखी निगमले उडान सुरु गरेको र अब साविक कार्यतालिकाअनुसार साताको बुधबार र शुक्रबार नियमित उडान सञ्चालन गर्ने पनि निगमको ताप्लेजुङ स्टेशन कार्यालयले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्