दिनप्रतिदिन पुरुषहरूको प्रजनन क्षमता घट्दै !

एजेन्सी / मेल फर्टिलिटी अर्थात् पुरुषहरूको प्रजनन क्षमता हरेक वर्ष घट्दै गएको स्वास्थ्यविज्ञहरूले चेतावनी दिएका छन् । संसारभरि विद्यमान रसायन, प्रदूषण र आधुनिक जीवनशैली यसका लागि जिम्मेवार छ ।

अमेरिका र युरोपमा फर्टिलिटी क्लिनिकमा आउने १ लाख २४ हजार पुरुषहरूमाथि गरिएको अध्ययनले पुरुषहरूको वीर्यक्षमता हरेक वर्ष २ प्रतिशतको दरले ओरालो लागेको देखिएको छ । अर्को एक अनुसन्धानमा २ हजार ६०० वीर्यदाताहरूमाथि फोकस गरिएको थियो । त्यहाँ पनि अनुसन्धानकर्ताहरूले त्यस्तै प्याटर्न भेटे ।

यो प्रवृत्ति जारी रहेमा मानवजातिको अस्तित्व नै खतरामा पर्ने वैज्ञानिकहरूको चेतावनी छ । अघिल्लो वर्ष भएको यस्तै अध्ययनले पश्चिमी देशहरूमा सन् १९७३ देखि २०११ का बीच वीर्यको क्वालिटी र क्वान्टिटी दुवैमा ५९ प्रतिशतले कमी
आएको पाइयो । अमेरिकाको न्युजर्सी र स्पेनको भ्यालेन्सियाका वैज्ञानिकहरूले पहिलोपटक विशाल अध्ययन गरेर गतिशील वीर्यको अनुसन्धान गरेका थिए । अध्ययनमा संलग्न पुरुषहरूलाई तीन फरक फरक समूहमा बाँडिएको थियो : कम वीर्य, मध्यम वीर्य र उच्च वीर्य ।

उच्च वीर्य समूहका पुरुषको गतिशील वीर्य संख्या हरेक वर्ष १।८ प्रतिशतले घटिरहेको छ । अध्ययनकी सहअध्येता डा जेम्स होटेलिङ भन्छिन्, ‘भविष्यमा पुरुषहरूले बच्चा जन्माउन असमर्थ हुने देखिएको छ र यो चिन्ताको विषय हो ।’

 


प्रतिक्रिया दिनुहोस्