योगेश भट्टराईलाई मन्त्री बनाउने जिम्मेवारी ओली जि र म मिलेर पूरा गर्छौं – प्रचण्ड

काठमाडौँ, असोज / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका नेता तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मन्त्री बनाउने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले ताप्लेजुङ पुगेर चुनावी सभामा जनतामा गरेको प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।पाथीभरा सद्भावना दूत परिचयपत्र वितरण तथा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्रीसँग गम्भीर छलफल गरिरहेको भन्दै केही दिनभित्रै महत्वपूर्ण निर्णय लिने समेत बताए ।

निर्वाचनमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीओलीले ताप्लेजुङ जिल्लामा पुगेर भट्टराईले जितेपछि मन्त्री बनाउने वचन दिएका थिए । ‘मैले केपीजीले ताप्लेजुङ पुगेर गर्नुभएको घोषणा युट्युबमा हेरेको थिएँ, उहाँले योगेशजीलाई तोकेरै मन्त्री बनाउने घोषणा गर्नुभएको रहेछ, प्रचण्डले भने,‘हामीले अहिलेसम्म त्यो जिम्मेवारी पूरा गर्न भ्याएका छैनौं, केपीजी र म मिलेर त्यो घोषणा एक दिन पूरा गरेरै छाड्छौं ।’आज विहान मात्रै प्रधानमन्त्री निवासमा गम्भीर छलफल गरेका छौं । राम्रै गृहकार्य गरेर महत्वपूर्ण निर्णय लिने योजनामा छौं’ उनले भने ‘सुशासनको पक्षमा, विकासको पक्षमा निर्णय लिनैपर्छ भन्नेमा छलफल केन्द्रित भएका छन् ।’

नेकपाले आफ्नो कामको समीक्षा गर्दै कमी कमजोरी सच्याएर अघि बढ्ने समय रहेको भन्दै उनले निराश नहुन आग्रह गरेका छन। प्रचण्डले जनभावनानुसार कडारुपमा दण्डसजाय प्रणाली स्थापित गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन देखिएका कमजोरी सुधारेर अघि बढ्ने पर्याप्त सम्भावना रहेको बताए ।

‘कामको सन्दर्भमा कहाँ के पुगेको छैन, राम्ररी समीक्षा र गृहकार्य गरेर जनताले देख्ने गरी महत्वपूर्ण लिने र पहल गर्ने विषयमा हाम्रो छलफल केन्द्रित छ’, प्रचण्डले भने, ‘विगतमा राजनीतिक नेतृत्व र दूरदृष्टिको अभावमा विकास, सुशासन र स्थिरताको अभावमा हामी पछि परेका हौँ । अहिलेको जनमत स्थिरताको पक्षमा छ । पार्टी एकताले पनि हामीलाई विकासको अभियान सञ्चालनका लागि बल दिएको छ । विकासका लागि प्रतिपक्षको पनि समान मत छ । अवसरलाई उपयोग गर्नुपर्छ ।’

उपनिर्वाचनमा गुमाउने गरी निर्वाचनमा नजाने

प्रचण्डले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने सन्दर्भमा काठमाडौँ निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने चर्चाका सम्बन्धमा हाल पार्टीमा कुनै निर्णय भइनसकेको उल्लेख गर्दै आफूहरु उक्त स्थान गुमाउने गरी निर्वाचनमा नजाने पनि घोषणा गरेका छन ।

कार्यक्रममा अध्यक्ष प्रचण्डलाई पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालले पाथीभरा सद्भावना दूतको परिचयपत्र प्रदान गरेका थिए ।
ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सरकारले चीनसँगको ओलाङचुङगोला नाका खोल्न सहमति गरेकोमा नेपाल सरकारलार्इृ धन्यवाद दिँदै पाथीभराको प्रचारका लागि २५ हजारलाई सो परिचयपत्र वितरण गरिने घोषणा गरेका छन ।

नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारसँग जनताले धेरै अपेक्षा भएकाले यो असफल हुन नहुनेमा जोड दिए । त्यसैगरि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ताप्लेजुङको सुकेटार विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको, आजैदेखि त्यहाँ नियमित उडान शुरु गरिएको बताएका छन ।

पाथीभरा क्षेत्र विकास समितिलाई केन्द्र सरकार मातहत राखिएको जनाउँदै पूर्वक्षेत्रको पर्यटन विकासमा सद्भावनादूत परिचयपत्र वितरणले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

 


प्रतिक्रिया दिनुहोस्