गोठमा भेटिएको बेवारिसे शिशुले पाए अभिभावक

अरुणपोष्ट सम्वाददाता
ताप्लेजुङ २५ असोज , / फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा जंगलबीचको गोठमा बेवारिसे अवस्थामा भेटिएका शिशुलाई विहीबार अभिभावकत्व प्रदान गरिएको छ। । जिल्ला बाल कल्याण समितिको निर्णय अनुसार निमित्त जिल्ला स्वास्थ्य प्रमुख डाक्टर सचिन यादवले शिशुलाई अभिभावकको जिम्मा दिएका छन्।

जंगलमा रहेको एउटा गोठमा शनिबार बिहानै लुङ्गी र बर्कोले बेरेको अवस्थामा घाँसको थुप्रोमाथि स्थानीयले शिशु देखेपछि उद्धार गरेका थिए । वाल कल्याण समितिको विहीबारै बसेको आकस्मिक बैठकले शिशुको अभिभावकत्व प्राप्तीका लागि आबेदन दिएका ६ जना मध्ये फुङ्लिङ नगरपालिका वडा नम्बर ८ ( साविक दोखु ७ ) का सन्तकुमार र देवीमाया गुरुङ दम्पतिलाई शिशुको अस्थायी अभिभावकत्व प्रदान गर्ने निर्णय गरेको थियो।

जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले शिशु प्राप्तीका लागि प्राप्त भएका आबेदनहरुको प्रारम्भिक अध्यनले सन्तकुमार दम्पतिलाई शिशुको अभिभावकत्व प्रदान गर्न सकिने विश्वासिलो आधारहरु देखाएकोले अस्थायी रुपमा शिशु हस्तान्तरण गरिएको जानकारी दिएका छन। चिसो समय सुरु भएको अवस्थामा शिशुलाई न्यानो ठाउँमा राख्न उपयुक्त हुने चिकित्सकीय सल्लाह अनुसार बाल कल्याण समितिको आकस्मिक बैठक मार्फत यो निर्णय गरिएको प्रजिअ भण्डारीले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्