पानामामाथि जापानको फराकिलो जित (भिडियो सहित)

निगाता / किरिन च्यालेन्ज कपको खेल अन्तर्गत शुक्रबार राती भएको खेलमा जापानले पानामालाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

जापानका लागि खेलको पहिलो हाफ सकिनुभन्दा तीन मिनेटअघि साल्जबर्गका फरवार्ड टाकुमी मिनामिनोले गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट स्किल प्रदर्शन गर्दै गोल गरेका थिए । जापानले ६६ औं मिनेटमा अग्रता दोब्बर पार्यो ।

काशीवा रेसोलबाट खेल्ने जुन्या इटोले ६ यार्ड बक्सभित्र भिडभाडको अवस्थाको फाइदा उठाउँदै बललाई पोस्टको दिशा दिएका थिए । देन्का बिग स्वान रंगशालामा जापानले खेलको ८५ औं मिनेटमा जित पक्का गर्यो । फरवार्ड कंगो कावामाताको प्रहार डिफेन्डर हेरोल्ड कमिङसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

जापानको राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक हाजिमे मोरियासुले दोस्रो खेलमा विदेशमा खेल्ने ४ खेलाडीलाई पहिलो रोजाइमा राखेका थिए । उनले विश्वकपका भेट्रान युया ओसाको, जेंकी हरागुचीसँगै १९ वर्षीय ताकेहिरो तोमियासुलाई खेलाएका थिए ।

विश्वकपमा सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका मोरियासुले लगातार दोस्रो खेलमा ३-० को जित आत्मसात गरेका हुन् । उनले ओलम्पिक टोलीको पनि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । जापानले मंगलबार साइतामामा हुने खेलमा उरुग्वेको सामना गर्नेछ । उरुग्वे शुक्रबारै दक्षिण कोरियासँग २-१ ले पराजित भएको थियो । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://youtu.be/_VCZPY8Dm64


प्रतिक्रिया दिनुहोस्