गण्डकी बैङ्क फुङ्लिङ शाखाको उद्घाटन

अरुण पोष्ट संबाददाता

ताप्लेजुङ / ताप्लेजुङमा गण्डकी विकास बैङ्क लिमिटेड फुङ्लिङ शाखाको उद्घाटन गरिएको छ । कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैङ्कको ७६ औं शाखाको रुपमा स्थापना गरिएको शाखाको फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले उद्घाटन गर्नुभएको हो ।

बैङ्कको फुङ्लिङ शाखाको उद्घाटन गर्नुहुँदै नगरप्रमुख छत्रपति प्याकुरेल ।

गण्डकी बैङ्कको फुङ्लिङ शाखाको उद्घाटन गर्नुहुँदै नगर प्रमुख प्याकुरेलले हिमाली जिल्ला ताप्लेजुङ पनि बैङ्किङ पहुँचमा पुग्दै गएको बताउनुभयो । उहाँले अन्य बैङ्क जस्तै गण्डकी विकास बैङ्कले पनि सेवाग्राहीलाई सरल र सहज सेवा प्रदान गर्नेमा आपूm विस्वस्त रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जिल्लामा बैङ्कहरु भित्रिएसँगै आर्थिक कारोबर वृद्धि हुने बताउनुभयो ।

यता पूर्वी नेपालदेखि पश्चिमसम्मका सबै जिल्लामा बैङ्कले शाखा सञ्चालनमा ल्याउने योजनासहित हाल धमाधम शाखा विस्तार गर्दै आएको गण्डकी विकास बैङ्क लिमिटेडका निर्देशक पद्मप्रसाद पौडेलले जानकारी दिनुभयो । निर्देशक पौडेलले देशका ७७ वटै जिल्लामा शाखाहरु बिस्तार गरिने पनि बताउनुभयो । उहाँका अनुसार सबै शाखाहरुबाट निक्षेप सङ्कलन, सर्वसुलभ दरमा कर्जा प्रवाह, सुनजन्य धातुको बन्दक कारोबार लगायत पूर्ण बैङ्किङ सुविधा बैङ्कले प्रदान गर्ने छ ।

यता ताप्लेजुङमा शाखा स्थापना भएसँगै निक्षेप सङ्कलन, कर्जा प्रवाहसहित एबीबीएस, एटीएम, मोबाइल बैङ्किङ, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रवाह हुने शाखा प्रवन्धक तिलक खड्काले जानकारी दिनुभयो । प्रवन्धक खड्काका अनुसार शाखाले एटीएम बाहेक अन्य बैङ्किङ सेवाहरु हाल प्रवाह हुँदै आएको छ ।

बैङ्कको चुक्तापुँजी दुई अर्ब ७५ करोड रुपियाँ रहेको छ भने २३ अर्ब ५० करोड निक्षेप सङ्कलन गरेको छ । निक्षेप सङ्कलन भएकोमध्ये २० अर्ब रुपियाँ बढी लगानी भएको पनि निर्देशक पौडेलले जानकारी दिनुभयो । फुङ्लिङमा बैङ्कको शाखा स्थापना भएर यसअघि देखि नै अनौपचारिक रुपमा बैङ्किङ कारोबार गर्दै आएको भएपनि दुई महिनापछि बिहीबार शाखाको औपचारिक उद्घाटन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्