बेबारिसे शिशुले पाए संरक्षक

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ८ थामखर्क जंगल बीचको गोठमा बेबारिसे अवस्थामा भेटिएका शिशुलाई बिहीबार अभिभावकत्व प्रदान भएको छ । जिल्ला बाल कल्याण समितिको निर्णयअनुसार निमित्त जिल्ला स्वास्थ्य प्रमुख डाक्टर सचिन यादवले शिशुलाई अभिभावकको जिम्मा दिनुभएको छ ।

गुरुङ दम्पत्तिद्वारा शिशु ग्रहण गरेपछि सामुहिक तस्बिर ।

बाल कल्याण समितिले बिहीबारै आकस्मिक बैठकले शिशुको अभिभावकत्व प्राप्तिका लागि आवेदन दिएका ६ जनामध्ये फुङ्लिङ नगरपालिका वडा नं. ८ (साविक दोखु ७) का सन्तकुमार र देवीमाया गुरुङ दम्पतिलाई शिशुको अस्थायी अभिभावकत्व प्रदान गर्ने निर्णय गरेको थियो । जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले शिशु प्राप्तिका लागि प्राप्त भएका आवेदनहरुको प्रारम्भिक अध्ययनले सन्तकुमार दम्पतिलाई शिशुको अभिभावकत्व प्रदान गर्न सकिने विश्वासिलो आधारहरु देखिएकोले अस्थायी रुपमा शिशु हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

असोज २० गते फेला परेका शिशु अस्पतालका स्वास्थ्यकर्मी, सुरक्षार्थ खटिएका प्रहरी र कर्मचारीको साथमा रहेका थिए । चिसो समय सुरु भएको अवस्थामा शिशुलाई न्यानो ठाउँमा राख्न उपयुक्त हुने चिकित्सकीय सल्लाहअनुसार बाल कल्याण समितिको आकस्मिक बैठकमार्फत यो निर्णयमा पुगिएको प्रजिअ भण्डारीले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्