६३ औं प्रहरी दिवसमा शुभकामना आदानप्रदान

प्रयास लिम्बू

ताप्लेजुङ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ६३ औं प्रहरी दिवसको अवसरमा बिहीबार शुभकामना आदानप्रदान लगायतका कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रहरी दिवससँगै नेपालीहरुको चाड दसैं तिहारको समेत एकापसमा शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले शान्ति सुरक्षा र अमनचयन कायम गर्नमा प्रहरीले खेल्दै आएको भूमिकाबारे चर्चासँगै प्रशंसा गर्नुभयो । नगर प्रमुख प्याकुरेलले शान्ति सुरक्षा कायम गर्न प्रहरीको पहलले मात्र अपुग हुने बताउँदै सबै नागरिकको सहयोग गर्न आवश्यक हुने बताउनुभयो । उहाँ जस्तै सबै वक्ताले अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि प्रहरीले निभाउँदै आएको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा वर्षभर उत्कृष्ट कार्य गर्ने प्रहरी कार्मचारीहरुलाई पुरस्कृत गरिएको थियो भने ग्रामीण क्षेत्रमा प्रहरी चौकीका भवनहरु निर्माण गर्नमा निःशुल्क जग्गा उपलब्ध गराई सहयोग पु¥याउने जग्गादातालाई पनि कदरपत्र दिएर सम्मान गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । दिवसका अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागितामा आयोजित निवन्ध प्रतियोगिताका बिजेता छात्रछात्रालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । बिहान प्रभातफेरीद्वारा फुङ्लिङ बजार समेत परिक्रमा गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्