पाथीभरामा एकैदिन पाँचहजार बढी भक्तजन

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, २८ असोज  / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको घुँइचो लागेसँगै एकैदिन पाँच हजार बढी भक्तजन पाथीभराको दर्शन गर्न पुगेका छन् । नेपालीहरुको महान् चाड दसैं र तिहारको यो समयसँगै पाथीभारामा भक्तजनहरुको घुँइचो लागेको हो । विशेषगरी दसैंको नवरात्र सुरु भएयता पाथीभरामा दर्शनार्थीको चाप बढ्ने गरेको र गएको शनिबार मात्रै पाँच हजार बढी दर्शनार्थीले पाथीभराको दर्शन गरेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

       सदरमुकाम फुङ्लिङस्थित स्थानीय जिप काउण्टरमा लागेको दर्शनार्थीको भीड ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाका अनुुसार नवरात्र सुरु भएपछि पाथीभरामा सबैभन्दा बढी भक्तजना शनिबार पुगेका छन् । घटस्थापनाको ७०० जना र अघिल्लो दिन एक हजार १७५ जना, घटस्थापनाको दोस्रो दिन ९०० जना, तेस्रो दिन शनिबार सबैभन्दा बढी र चौंथो दिन एक हजार ६० जना भक्तजनले पाथीभराको दर्शन गर्न पुगेको अस्थायी प्रहरीचौकी फेदीबाट तथ्याङ्क प्राप्त भएको प्रनाउ थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार तथ्याङ्कमा उल्लेख भएभन्दा अरु धेरै दर्शनार्थीको संख्या छुटेको हुनसक्छ । दैनिक हजारभन्दा बढी दर्शनार्थी पाथीभरामा पुगेर दर्शन गरेका हुनसक्ने अनुमान गरिएको छ । यता दर्शनयात्रा तथा दर्शनार्थीलाई अन्य कुनै समस्या हालसम्म नभएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यस अवधिको यकिन तथ्याङ्क भने दसैं सकिएपछि मात्रै आउने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी अधिकृत उदय भट्टराईले जानकारी दिनुभयो ।

पाथीभरा देवीको दर्शन गर्नका लागि मुख्य सिजन दसैं तिहारको समय र त्यसपछि चैते दसैं (रामनवमी) को समयलाई मानिन्छ । सोहीअनुसार अहिले हिन्दूहरुको महान् चाडपर्व दसैं तिहारसँगै सिजन सुरु भएकाले भक्तजन अर्थात तीर्थयात्रीहरुको आगमन बढेको हो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अनुसार देवीको दर्शन गर्न हिजोआज राजधानी काठमाडौं लगायत ताप्लेजुङ नजिकका जिल्लाहरु पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर लगायतबाट दर्शनार्थीहरु आइरहेका छन् । नेपाल बाहिर भने भारतको सिक्किम, दार्जिलिङ, कलकत्ता लगायतका ठाउँबाट दर्शनार्थीहरु आउने गरेका छन् ।

यता पाथीभरामा दर्शनार्थीको आगमन बढेसँगै मन्दिर नजिकको फेदीबजार, तल्लोफेदी, काफ्लेपाटी, भालुगौंडे, सेवारो चोक, देउराली लगायत बजारका होटलहरु दर्शनार्थीले प्रायः खचाखच भएका छन् । यस्तै सदरमुकाम फुङ्लिङ र सुकेटार बजारका होटलहरु पनि उत्तिकै खचाखच भएको व्यवसायीले बताएका छन् । दर्शनार्थीहरुका कारण फुङ्लिङ बजारमा मानिसको चहलपहल निक्कै बाक्लिएको छ ।

त्यस्तै दर्शनार्थीको चापका कारण यातायातको व्यवस्था मिलाउनलाई पनि हम्मे भइरहेको स्थानीय यातायात व्यवसायी टिकेन्द्र नेपालीले बताउनुभयो । सदरमुकाम फुङ्लिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म दर्शनार्थीलाई यातायात सुविधा दिन भ्याईनभ्याई भएको नेपालीको भनाइ छ । यातायात व्यवसायीका अनुसार बिहान चाँडै र साँझ अबेरसम्म गाडी काउन्टर क्षेत्रमा दर्शनार्थी यात्रुको भीड लाग्ने गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्