एपीएलमा सन्दीप नखेल्दा लेपर्ड्सको लज्जास्पद हार

काठमाडौं / अफगानिस्तान प्रिमियर लिग (एपीएल) अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेको टोली नङराहार लेपर्ड्सबल्ख लेजेन्ड्ससँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

सन्दीप लगातार खेलमा विश्राममा रहेका थिए । टस जितेर पहिलो ब्याटिङ गरेको लेजेन्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रनको विशाल योगफल खडा गरेको थियो । ओपनर क्रिस गेलले ३० बलमा ५४ तथा डार्विस रसुलीले ४५ बलमा ७८ रन प्रहार गर्दै लेजेन्ड्सलाई उत्कृष्ट सुरुवात दिलाए । अन्तिम ओभरको चौथो बलमा आउट भएका रसुलीले ७ चौका र ४ चक्का प्रहार गरे ।

त्यसअघि चौथो नम्बरमा ब्याटिङ गर्न आएका मोहमद नाबीले १६ बलमा ४७ रनको आक्रामक ब्याटिङ गरे । उनले २ चौका र ५ चक्का प्रहार गरेका थिए । सन्दीपको अनुपस्थितिमा लेपर्ड्सको बलिङले धेरै संघर्ष गर्नुपर्यो । अफगानी स्पिनर मुजिब उर रहमानले ३ ओभरमा ५१ रन खर्चेका थिए । कप्तान बेन कटिङले २ विकेट तथा नवीन उल हक, फज़ल निआजाई र जाहिर खानले १-१ विकेट लिए ।

जवाफमा लेपर्ड्सको टोली १४ औं ओभरमा जम्मा ६४ रन जोड्दै अलआउट भयो । तेस्रो ओभरमा दुई विकेट गुमाएपछि सुरु भएको लेपर्ड्सको पतन त्यसपछि लगातार जस्तै ओभरमा आएको थियो । ओपनर आन्द्रे फ्लेचर र मध्यक्रमका फजल निआजाईले १३-१३ रन जोडेका थिए । मोहमद नाबीले बलिङतर्फ पनि ४ विकेट लिए । उनले ३.१ ओभरमा १२ रन खर्चे । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पाक्तिया प्यान्थर्स र काबुल ज्वानन खेल्दैछन् । यो खेलको विजेताले बल्खसँग उपाधिको लागि भिड्नेछ ।

-हाम्रो खेलकुदबाट साभार


प्रतिक्रिया दिनुहोस्