प्रेस काउन्सिल ऐन संशोधन हुँदै

ललितपुर, १६ चैत । प्रेस काउन्सिल ऐन झण्डै २६ वर्षपछि संशोधन हुने भएको छ ।‘प्रेस काउन्सिल ऐन संशोधन’ विषयक आज यहाँ आयोजित छलफल कार्यक्रममा बोल्दै कामु अध्यक्ष किशोर श्रेष्ठले ऐन पुरानो भएकाले समयसापेक्ष नभएको बताउनुभयो ।कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालय र पत्रकारिताको काम गर्ने शैली फरक भए पनि उद्देश्य एउटै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुवैको उद्देश्य सत्यको खोजी नै हो ।”

लोकतन्त्रमा जनताको नजिक रहने र जनताले विश्वास गर्ने क्षेत्र पत्रकारिता नै भएकामा उहाँको जोड छ । सञ्चार माध्यमको दायरा मात्रै फराकिलो भएको भन्दा पनि पत्रकारको जिम्मेवारी अझै बढेको उहाँले औँलाउनुभयो ।राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले राससकोे समाचार स्रोत उल्लेख नगरी प्रयोग गर्ने काम रोक्नुपर्नेमा जोड दिनुभयो । कुनै पनि व्यक्तिलाई आरोप लगाएर समाचार लेख्दा एकतर्फी हुन नहुनेमा उहाँको जोड छ ।वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पत्रकार आफैँ जागरुक भए नियममा बाँध्नका लागि कानून नचाहिने विचार राख्नुभयो ।काउन्सिलका कावा अध्यक्ष श्रेष्ठले विसं २०४८ मा बनेको ऐनले अनलाइन मिडिया नसमेटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा बढी समस्या अनलाइन मिडियामा भए पनि ऐनले यस क्षेत्रलाई समेटेको छैन ।” मिडियासम्बन्धी अरू ऐनसँगै प्रेस काउन्सिल ऐनको मस्यौदा अघि बढ्ने उहाँले बताउनुभयो ।रासस

–––


प्रतिक्रिया दिनुहोस्