इजिप्टमा अर्थशास्त्री गिरफ्तार

कायरो, ५ कात्तिक / इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुकलाई मुलुकको आर्थिक तथा सामाजिक सङ्कटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै आइतबार गिरफ्तार गरेको छ । फारुकले गत साता आफ्नो पुस्तक “के इजिप्ट साँच्चिकै गरिब मुलुक हो रु” का कैंयौं प्रति सुरक्षाकर्मीले जफत गरेको बताउनुभएको थियो ।

“उहाँलाई गिरफ्तार गरिएको छ र पुस्तककै कारण उहाँलाई राज्य सुरक्षा अभियोजक समक्ष भोलि उपस्थित गराइनेछ,” मानव अधिकार सूचनाका लागि अरब सञ्जालको नेतृत्व समेत गरिरहेका कानुन व्यवसायी गमाल इदले बताउनुभयो । फारुक विरुद्धको मुख्य आरोपका बारेमा सरकारी अभियोजनकर्ताले निर्णय गर्नेछन्, इदले भन्नुभयो ।
प्रहरीले पनि पुस्तककै कारण गिरफ्तार गरिएको मौखिक जानकारी गराएको बताइएको छ ।

इजिप्टको राष्ट्रपतिका रुपमा सन् २०१४ मा अब्देल फतेह अल–सीसी सत्तामा आएपछि मानव अधिकार समूहहरुले सबैजसो विपक्षीहरुलाई इजिप्ट सरकारले दबाएको आरोप लगाउँदै आएका छन् । सरकारी अधिकारीहरुले आफ्नो मुख्य लक्ष्य आतङ्कवादसँग लड्नु र गलत सूचना फैल्याउने कार्य रोक्नु रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्