‘वनको संरक्षण गर्न वन समुदायलाई हस्तान्तरण गर्नुपर्छ’

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ७ कार्तिक / सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालकी अध्यक्ष भारती पाठकले वनको संरक्षण गर्न वन समुदायमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । सामुदायिक र अन्य वनबाट उचित प्रतिफल लिनको लागि वनको संरक्षण हुनुपर्ने र संरक्षण गर्ने जिम्मा समुदायलाई हस्तान्तरण गर्नुपर्ने अध्यक्ष पाठकले बताउनुभएको हो ।

                  केन्द्रीय अध्यक्ष पाठकलाई मायाको चिनो दिँदै जिल्ला अध्यक्ष ओझा ।

मङ्गलबार सदरमुकाम फुङ्लिङमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङले आयोजना गरेको एक कार्यक्रममा वनको संरक्षणमा समुदायलाई उत्तरदायी बनाए मात्र वन/जङ्गलको संरक्षण हुने पाठकले बताउनुभयो । “अब तारको बार लगाएर वनको संरक्षण गर्न असम्भव हुने र संरक्षणका लागि मानिसको बार आवश्यक छ, मानिसको बार भनेको वन समुदायलाई हस्तान्तरण गर्नु हो” उहाँले भन्नुभयो ।

उहाँले अबका दिनमा कृषि र वनलाई जोडेर काम गर्नुपर्ने आवश्यक रहेको पनि औँल्याउनुभयो । सामुदायिक वनभित्र रहेको माटो सुहाँउँदो फलफुल लगाएर वनको काठबाट भन्दा बढी फलफुल र जडिबुटीको निकासीबाट फाइदा लिनुपर्ने उहाँको भनाइ छ । वन क्षेत्रभित्र माटो सुहाउँदो जडिबुटी लगायत अन्य खेती लगाए बढीभन्दा बढी आम्दानी लिन सकिने र वनको संरक्षण साथै व्यवस्थापनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

अब सामुदायिक वन माथिको सम्पूर्ण अधिकार स्थानीय तहमा हुनुपर्ने र स्थानीय तहमा वन इकाइ गठन गरी सामुदायिक र अन्य वन व्यवस्थापनको काम त्यहिँबाट हुनुपर्नेमा पनि उहाँको जोड थियो । उहाँले वनको पुरानै संरचनालाई जीवित राख्ने प्रयत्न गम्भीर विषय भएको भन्दै अब वन संरचनामा पनि गणतन्त्र र सङ्घीयताको अनुभूति हुन आवश्यक भएको बताउनुभयो ।

पुरानै संरचनाबाट व्यवस्थापन गर्न खोजिए नेपालको वन एक दशकमै सखाप हुने पनि उहाँले दावी गर्नुभयो । वैज्ञानिक वन व्यवस्थापनका नाममा हाल जङ्गल मास्ने र अनियमितता गर्ने काम भइरहेको उहाँको आरोप छ । अहिले सरकारले बनाएको डिभिजन सम्बन्धी नीति बिरुद्ध सबै वनका उपभोक्ता सचेत बन्नुपर्ने समय आएको पनि उहाँले बताउनुभयो । दिगो वन व्यवस्थापनको निम्ति सात सय ५३ वटै स्थानीय तहले अब समुदायमैत्री वन नीति ल्याउनुपर्ने खाँचो रहेको समेत उहाँले औँलयाउनुभयो ।

यता ताप्लेजुङ भ्रमणमा आउनुभएकी केन्द्रीय अध्यक्ष पाठकलाई महासङ्घका जिल्ला अध्यक्ष सुरज ओझाले खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो । सामुदायिक वन उपभोक्ता महासङ्घबाट जिल्लाका लागि हुने सहयोगमा कुनै कन्जुस्याँइ नहुने आपूmले विश्वास लिएको जिल्ला अध्यक्ष ओझाको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस्