कुटपिटबाट एकजनाको मृत्यु

अरुण पोस्ट संबाददाता

ताप्लेजुङ, ७ कार्तिक / ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा गाईले बाली खाएको निहुँमा विवाद हुँदा छिमेकीको कुटपिटबाट शनिबार राति एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला–४ साँबाका ३५ वर्षीय प्रताप लिम्बूको मृत्यु भएको हो ।

                                  फाईल तस्विर

गाईबस्तुले बाली खाएको निहुँमा विवाद हुँदा छिमेकी दुई/तीन जनाको समूहले लिम्बूमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका लिम्बूको उपचारका लागि सदरमुकाम फुङ्लिङतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

मृतकको सव मङ्गलबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यता घटनामा संलग्न रहेको आरोपमा सोही वडाका स्थानीय ५५ वर्षीय चित्रबहादुर लिम्बू पक्राउ परेका छन् । घटनामा संलग्न रहेको आरोप लागेका अन्य दुईजना फरार रहेका र उनीहरुको खोजी कार्य भइरहेको पनि प्रहरी स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्