खलासीले चलाएको ट्रकको ठक्करबाट तीनको मृत्यु,चालक फरार

काठमाडौ‌ कार्तिक १० / काठमाडौंको तारकेश्वर–५ लोलाङ हाइटमा ट्रकको ठक्करबाट मृत्यु भएकी गोरखा सहिद लाखन–७ की ७० वर्षीय तिलकुमारी तिवारीको शव शुक्रबार साँझसम्म पनि उठ्न सकेको छैन। सोही ट्रकको ठक्करबाट उपचारका क्रममा अस्पतालमा मृत्यु भएका तिलकुमारीका नाति तीन वर्षीय आजित तिवारी, नुवाकोट ककनीकी ६० वर्षीया सावित्री पुडासैनीको शव पनि आफन्तले बुझेका छैनन् ।

घटना स्थलमै मृत्यु भएकी तिलकुमारीको शव घटना स्थलमै प्लास्टिकले छोपेर राखिएको छ  । ट्रकको ठक्करले टाउकोबाट उछिट्टिएको गिदी, रगत सडकमै असरल्ल छन् । नाति आजितको शव भने टोखास्थित ग्रिनसिटी अस्पतालमा राखिएको छ ।  अर्का मृतक सावित्रीको शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । सडकमा हिँडिरहेका वेला उनीहरूलाई शुक्रबार बिहान १०ः२० बजे ना६ख ७८२६ नम्वरको १० चक्के ट्रकले ठक्कर दिएको थियो । प्रहरीले ट्रक चालकलाई भने अझै पक्राउ गर्न सकेको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले ट्रकका चालक पक्राउ नपरेको र ट्रकका मालिक सम्पर्कमा नआएकाले स्थानीयले मृतक शव बुझ्न नमानेको बताए । प्रहरीका अनुसार ठक्कर दिँदा ट्रक खलासीले चलाइरहेका थिए । सिमेन्ट अनलोड गरेर फर्कने क्रममा ट्रकले तीन पैदलयात्रीलाई ठक्कर दिएको हो । लगत्तै चालक फरार भए । प्रहरीका अनुसार ग्रामीण सडकमा फुटपाथ नहुँदा धेरै दुर्घटना हुने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्