घरमा ट्वाइलेट नहुँदा विद्यालयबाट निकालिएकी यी बालिकाको स्कुल जाने सपना कहिले पूरा होला ?

काठमाडौ‌ कार्तिक १० / सर्लाही ईश्वरपुर नगरपालिका–२ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन्। महिना पुगेपछि स्कुलले भर्ना गर्न जन्मदर्ता लिएर आउ भन्यो। भोलिपल्ट विहानै उनका बुवा सत्यसिंह ब्लोन जन्मदर्ताका लागि भक्तिपुर गाविस पुगे।

सचिवले कडा स्वरमा भने, ‘घरमा ट्वाइलेट छरु’ सत्यसिंहले मुन्टो हल्लाउँदै भने, ‘अहँ छैन।’ ‘ट्वाइलेट नबनाएसम्म जन्मदर्ता बन्दैन।’ पवित्राका बुवा खिन्न मन लिएर फर्किए। त्यसपछि बन्द भयो, पवित्राका लागि एक किलोमिटर परको स्कुलको ढोका।  गाविस सचिवको त्यही वाक्य सुनेर फर्किएको ४ वर्ष वित्यो। पवित्राका बुवाले न ट्वाइलेट बनाउन सके, न छोरीलाई स्कुल पठाउन।

जन्मदर्ता, ट्वाईलेट, स्कुल र गरिबी यी चार शव्दको वरिपरी रिँगिरह्यो पवित्राको स्कुल जाने सपना। उनको बालस्मृतिबाट स्कुल गएका दिन विस्तारै मेटिँदैछन्। पूर्वपश्चिम राजमार्गको सागरनाथ चोकबाट करिब ४ किलोमिटर जंगलको बाटो हिँडेपछि पवित्राको गाउँ मियाँखोर पुगिन्छ। त्यही छ, टायलले छाएको, माटोले टालेको, तला नभएको १० धुर ऐलानी जमिनमा बनेको पवित्राको भुइँघर।

घरमा छिन् पवित्राकी सुस्त मनस्थितिकी आमा । उनको नाम दाङ्मो योञ्जन हो । उमेर कति पुग्यो उनलाई थाहा छैन । किनकि उनको नागरिकता छैन। कान कम सुन्ने बुवा छन्, ४५ वर्षीय । ३ कक्षा मात्रै पढेर छाडेका १५ वर्षीया दाइ गलैंचा बुन्न काठमाडौं गइसके। सत्यसिंहले ट्वाइलेट बनाउन १५ देखि २० हजार जति लाग्ने हिसाब निकाले। चारचौरास भौंतारिए पनि ट्वाइलेट बनाउन सकेनन् । हातमुख जोर्न धौधौ हुने अवस्थामा १५ हजारमा ट्वाइलेट बनाउनु निकै महँगो ठाने । त्यसपछि इँटाभट्टामा काम गरी पैसाको जोहो गर्न काठमाडौँ हिँडे।

पवित्रा स्कुल जान नपाएपछि घरमा त्यत्तिकै बसिरहिन्। आमाले स्कुल जाऊ भनिनन् । पवित्रा पनि स्कुल फेरि फर्केर गइनन् । ‘जन्मदर्ता नलिई कसरी जानुरु ,’ उनी सुस्तरी भन्छिन्। स्कुल नगएरै पवित्राको महिना बित्यो, वर्ष बित्यो । अब त स्कुल जानुपर्छ भन्ने पनि उनलाई लाग्न छाड्यो । बिस्तारै स्कुलको चौरमा साथीसँग खेलेका क्षणहरू धमिलो हुँदै गयो । बेलाबेलामा गाउँका साथीहरू स्कुल गइरहेको देख्दा उनी झस्किन्छिन् ।

इँटाभट्टाबाट सत्यसिंह फर्किए । तर त्यस वर्ष पैसा कमाइ भएन । ट्वाइलेट बनाउने अनि जन्मदर्ता बनाएर छोरीलाई स्कुल पठाउने योजना अधुरै रह्यो। पवित्रा जब १० वर्षकी भइन्, स्कुल होइन बुवासँगै इँटाभट्टामा काम गर्न काठमाडौं गइन् । एउटा चिसो हिँउद भक्तपुरको इँटाभट्टामा बिताइन् । बुवालाई सघाइन् । काँचो इँटा बोकिन् । फर्माको सहाराले इँटा बनाइन् । भन्छिन्, ‘इँटा बनाउन मलाई पनि आउँछ।’

भट्टामा एक याम जाडो सहेपछि बाउछोरी गाउँ फर्किए । उनलाई आशा थियो, अब घरमा ट्वाइलेट बन्ने छ अनि जन्मदर्ता बन्नेछ । त्यसपछि कापी कलम च्यापेर स्कुल जान पाइनेछ । तर उनको आशा अधुरै रह्यो। आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले यो खबर लेखेका छन्।आजको अन्नपूर्ण पोष्ट दैनिकमा सर्लाहीबाट राजु स्याङ्तानले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्