पार्टी एकीकरण जस्तै अव्यवस्थित चियापान,लालसलामको सट्टा नमस्कार

काठमाडौ‌ कार्तिक ११ / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर शनिबार राजधानीमा चियापान कार्यक्रम आयोजना ग¥यो। काठमाडौँको भुकुटीमण्डस्थित बगैँचामा राखिएको चियापान स्थल साँघुरो भएकाले अस्तव्यस्त देखिएको थियो। उक्त स्थानमा प्रवेश गर्नका लागि कार्यकर्ताहरुले घण्टौँ लाइन बस्नुपरेको थियो।

लामो समय लाइन बस्नुपरेकाले केही कार्यकर्ताहरु बीचबाटै बाहिरिएका थिए । केही कार्यकर्ताले असन्तुष्टि जनाएका थिए। ५० हजारलाई निमन्त्रणा दिइएको भनिए पनि चियापानमा २५ हजार जति मात्र उपस्थित भएको आयोजकको भनाइ छ। पार्टी एकीकरण व्यवस्थित नभए जस्तै कार्यक्रमस्थलको व्यवस्थापन पनि सशक्त देखिएको थिएन । पार्टी एकीकरण भएपछि पहिलोपटक आयोजित चियापानमा नेता तथा कार्यकर्ताको संस्कार समेत परिवर्तन भएको देखियो।

विगतमा लालसलाम भन्दै प्रस्तुत हुनेहरुलाई यसपालि नमस्कार भन्न भ्याइनभ्याई थियो । शीर्ष नेताहरुले विगतमा झैँ नेता तथा कार्यकर्तासँग हात मिलाएको देखिएन।
विगतमा पूर्वमाओवादी केन्द्रद्वारा भृकुटीमण्डमै आयोजित चियापानमा एकजनाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गालामा थप्ड हानेका थिए। सुरक्षाको कारण देखाउँदै यसपटक विशिष्ट पाहुनाहरुसँग मात्र शीर्ष नेताले हात मिलाउने कार्यक्रम बनाइएको थियो।

चियापनमा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कूटनीतिक, कलाकारलगायतको सहभागीता रहेको थियो । शनिबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन भएको चियापानमा बस्ने ठाउँको अभावमा नेता तथा कार्यकर्ता भौंतारिदै बाहिरिएका थिए। मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म नेता, कार्यकर्ता र सर्वसाधारणका लागि समय छुट्टयाएको थियो भने ३ देखि ५ बजेसम्म उच्च पदस्थ व्यक्तिका लागि समय छुट्टयाएको थियो । भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरी लामो समय शीर्ष नेताहरुसँगै बसेका थिए।

प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि चियापानमा अर्का अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएको थियो । उहाँले सांस्कृतिक पर्वले नेपालीलाई एकीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरेको बताए। नेपाल जातीय, भाषिक, धार्मिकरुपमा विविधतायुक्त देश रहेको र त्यसले एकताको सुत्रमा बाँधेको बताउँदै अध्यक्ष प्रचण्डले एकअर्काको संस्कृतिप्रति सम्मान, सहयोग, सद्भावना व्यक्त गर्ने नेपालको मौलिक सांस्कृतिक विविधता रहेको बताए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको प्रतिक्रिया दिए। चियापानमा पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापालगायतका नेता गएका थिए । चीन भ्रमणमा रहेकाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवम् रक्षामन्त्री ईश्वर पोखरेल गएनन्।

कार्यक्रमस्थल भृकुटीमण्डमा केहीबेर तनाव भएको थियो । चियापान वहिस्कार गर्न अपिल गर्दै नेकपाभित्रकै असन्तुष्ट समूह भनिएकाहरुले कार्यक्रमस्थलमा धमाधम पर्चा वितरण गर्न थालेपछि तनाव भएको हो। केही समय नेकपा पक्षधर कार्यकर्ता र पर्चा बाँडनेहरुबीच भनाभन भएपछि प्रहरीले नियन्त्रण लिई तनाव हटाएको थियो।

पर्चा वितरण गर्ने पक्षले ५ बुँदे माग अघि सारेको थियो । उनीहरूले समानताको आधारमा एकता गरिनुपर्ने, विप्लव, मोहन वैद्य, चित्रबहादुर केसीलगायतका कम्युनिष्ट पार्टीलाई पनि एकतामा ल्याइनुपर्ने, तत्कालिन नेकपा माओवादीको तर्फबाट नातावाद र कृपावादका आधारमा नेकपाको केन्द्रीय सदस्य बनेकाले त्यसलाई विघटन गरेर नयाँ केन्द्रीय समिति बनाइनुपर्ने, नागरिकको जनजिविकाको सवालमा पार्टीले तत्काल पहलकदमी लिनुपर्नेलगायतका राखेका थिए। आजको समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्