प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा

काठमाडौ‌ कार्तिक ११ / इंग्लिस प्रिमियर लिगमा खेलमा उच्च लयमा रहेको लिभरपुलले शनिबार रातिको आफ्नै घरेलु मैदान भएको खेलमा कार्डिफ सिटीविरुद्ध ४–१ को शानदार जित निकालेको छ ।

लिभरपुललाई जित दिलाउन साडियो मानेले २ गोल गरे भने सेरडान शाकिरी र मोहम्मद सालाहले एक–एक गोल गरे । यस्तै कार्डिफका कल्लुम पाटरसनले एक गोल फर्काएका थिए ।

स्ट्राइकर सालाहले खेलको १० औं मिनेटमा गोल गरेपछि लिभरपुल पहिलो हाफमा १–० ले अगाडि रह्यो । त्यसपछि दोस्रो हाफको ६६ औं मिनेटमा मानेले गोल गरे भने खेलको ७७ औं मिनेटमा कार्डिफका पाटरसनले गोल गर्दै खेल २–१ मा ल्याए ।

यसपछि ८४ औं मिनेटमा शाकिरीले गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाउँदा ८७ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–१ को सहज जित दिलाए ।

यससँगै लिभरपुलले १० खेलबाट २६ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ । यस्तै ९ खेलबाट २३ अंक जोडेको सिटी दोस्रो स्थानमा छ भने पराजित कार्डिफ ५ अंक जोडेर १७ औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्