फरार अभियुक्त धमाधम पक्राउ पर्दै

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ११ कात्तिक / ताप्लेजुङमा विभिन्न मुद्दाका फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीका अनुसार कर्तव्य ज्यानसहित वन, मादक पदार्थ, गाली बेइजजत लगायत मुद्दाका फरार अभियुक्तहरु पक्राउ परेका हुन् ।

                          फाईल तस्विर

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, सञ्चार शाखाका अनुसार गएको शनिबार अर्थात कात्तिक ३ गते जिल्लाको मिक्वाखोला गाउँपालिका ४ साँबाका ३२ वर्षीय प्रतापसिंह लिम्बूको हत्या गरी फरार रहेकामध्ये दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाका चित्र बहादुर लिम्बू र नरेन्द्र लिम्बू रहेका छन् । पीडित पक्षले दिएको जाहेरीअनुसार उक्त घटनामा संलग्न केही अझै फरार रहका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै कर्तव्य ज्यान मुद्दाकै फरार अभियुक्त जिल्लाको आठराई त्रिबेणी गाउँपालिका ३ हाङ्पाङका २० वर्षीय देबिन तामाङ पनि दुई वर्षपछि पक्राउ परेका छन् । पक्राउ परेका तामाङ हाङ्पाङकै ४६ वर्षीय काजीमान लिम्बूलाई २०७३ साल साउन २७ गते कुटपिट गरी हत्या गरेर फरार रहेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका लिम्बूको तीन दिनपछि साउन ३० गते मृत्यु भएको थियो ।  यसैगरी वन मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भई हालसम्म फरार रहेका फक्ताङ्लुङ गाउँपालिका ३ लिङ्खिमका ४४ वर्षीय भीमराज पतङ्वालाई पनि प्रहरीले पक्राउ गरेको छ । पतङ्वा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका र कसुर अनुसार अदालतले तोकेको १२ लाख २५ हजार २३० रुपियाँ जरिवाना रकम बुझाउन नसक्दा उनी कारागार चलान भएका छन् ।

फक्ताङ्लुङ गाउँपालिकाकै अर्का व्यक्ति पनि पक्राउ परका छन् । फक्ताङ्लुङ २ बस्ने ३५ वर्षीय थरिबहादुर कार्की सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका ४ मा मादक पदार्थ सेवन गरी स्थानीयसँग झगडा गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । प्रहरी गस्ती टोलीले स्थानीयसँग झगडा गर्दै गरेको फेला पारेपछि सम्झाउने कोसिस गर्दा प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । हाल अभद्र व्यवहार कसुरअन्तर्गत मुद्दा दर्ता गरी कार्कीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गाली बेइज्जती मुद्दामा दोषी ठहर भई फरार भएका तीनजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतले दोषी ठहर गरेका हालसम्म फरार रहेकाको खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । यस्तै अन्य फरार प्रतिवादीहरुको पनि प्रहरीबाट खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताउनुभयो । प्रहरी कार्यालयका अनुसार सबैजना पछिल्लो दुई/तीन दिनभित्र पक्राउ परेका हुन् ।


प्रतिक्रिया दिनुहोस्