कार्यपालिकाका पदाधिकारीलाई कम्प्युटर तालिम

ताप्लेजुङ संबाददाता

ताप्लेजुङ, ११ कात्तिक /  ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गाउँ कार्यपालिकाका पदाधिकारीहरुलाई कम्प्युटर तालिम दिन थालेको छ । सूचना र प्रविधिको समयमा कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान हुन आवश्यक रहेको महशुस गरी कार्यपालिकाका पदाधिकारीहरुलाई तालिम दिन थालिएको हो ।

आधारभूत कम्प्युटर तालिम लिँदै मैवाखोला गाउँ कार्यपालिकाका पदाधिकारीहरु ।

मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले गाउँपालिका कार्यालयको क्षमता विकास कार्यक्रमअन्तर्गत आधारभूत कम्प्युटर तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । कार्यपालिकाका पदाधिकारी तथा सदस्यहरुकै लागि कम्प्युटर तालिमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।
कार्यपालिकाका सबै पदाधिकारी र सदस्यहरुले कम्तिमा इमेल, इन्टरनेट चलाउन र सामान्य चिठीपत्र लेख्न (टाइप गर्न) सक्नुपर्छ भन्ने उद्देश्य राखेर १० दिने आधारभूत कम्प्युटर तालिमको आयोजना गरिएको अधिकारीले बताउनुभयो ।

उहाँकाअनुसार बुधबारदेखि सुरु गरिएको तालिममा मैवाखोला गाउँपालिकाका अध्यक्ष राजन कुमार थक्लुङ, उपाध्यक्ष कौशिला लिम्बू, वडाध्यक्षहरु र कार्यपालिकाका सबै सदस्यहरुसमेत १४ जनाले सहभागिता जनाउनुभएको छ । तालिममा सहभागीलाई गाउँपालिकाका सूचना प्रविधि अधिकृत र कम्प्युटर अप्रेटरले सहजीकरण गर्दै आउनुभएको छ । यता तालिम आयोजना गरेपछि कार्यपालिकाका सबै पदाधिकारी तथा सदस्यले उत्साहका साथ कम्प्युटर सिक्दै आउनुभएको बताइएको छ । आधारभूत तालिम पश्चात केही समयपछि उहाँहरुकै लागि पुनःताजकी तालिमको आयोजना गरिने पनि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्