शान्ति सुरक्षा प्रभाकारी बनाउन प्रहरीको साझेदारी कार्यक्रम

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, १२ कात्तिक/ नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्ति सुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ । ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ उक्त कार्यक्रम देशभर कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढाउने योजनासहित प्रहरीले अभियानको सुरुवात गरेको हो ।

                   गमलामा पानी हालेर ताप्लेजुङमा समुदाय प्रहरी साझेदारीको उद्घाटन गरिँदै ।

आइतबारदेखि देशभर एकसाथ सुरु भएको अभियानको ताप्लेजुङमा १ नम्बर प्रदेशसभाका सदस्य बलबहादुर साम्सोहाङले उद्घाटन गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयद्वारा सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमका बीच प्रदेशसभाका सदस्य साम्सोहाङले अभियानको उद्घाटन गर्नुहुँदै यसले शान्ति सुरक्षा थप व्यवस्थित बनाउनमा सहयोग पुग्ने विस्वास लिनुभयो ।

यता कार्यक्रममा अभियानको अवधारणा तथा औचित्यबारे ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी गराउनुभएको थियो । अभियानबारे जानकारी गराउँदै प्रनाउ थापाले कार्यक्रमको प्रस्तावसहित जिल्लाका सबै स्थानीय तहमा कार्यक्रम कार्यान्वयन गरिने र सोहीअनुसार सम्बन्धित स्थानीय तहका अध्यक्ष वा प्रमुखसँगै सम्झौता गरिने पनि बताउनुभयो ।

उहाँले जिल्लाका नौ तहमध्ये फुङ्लिङ नगरपालिकासँग सम्झौता भइसकेको तथा नगर उपप्रमुख बमहादुर भट्टराई (तारा) र आफूले समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिनुभयो । यसैगरी आइतबार नै पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा, मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ । क्रमशः बाँकी रहेका स्थानीय तहसँग पनि अभियानबारे सम्झौता गरी कार्यक्रम कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।

समझादारीपत्रमा स्थानीय तह र प्रहरीबीच साझेदारी निर्माणको प्रक्रिया, समुदाय प्रहरी समितिको काम कर्तव्य र जिम्मेवारी, कार्यक्षेत्र, समुदाय केन्द्रित कार्यक्रमका प्रमुख प्राथमिकता र गतिविधि, विद्यालय केन्द्रित कार्यक्रमलगायतका विषय समेटिएका छन् । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्यव प्रमुख घनेन्द्र मादेन, स्थानीय तहका प्रमुख/उपप्रमुख, विभिन्न कार्यालय, सङ्घ/संस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक लगायतको उपस्थिति रहेको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस्