ताप्लेजुङमा पुरुषको निवेदनमा पहिलोपटक सम्बन्धबिच्छेद

ताप्लेजुङ, १३ कार्तिक / जिल्ला अदालत ताप्लेजुङले मुलुकी देवानी (संहिता) २०७४ अनुसार पतिको सम्बन्धविच्छेदको निवेदनमा पहिलो निर्णय पहिलो पटक छ । भदौ १९ गते सम्बन्ध विच्छेदको निवेदन दिएका फुङलिङ नगरपालिका–६ का ६२ वर्षीय अमृत बहादुर लिम्बूको पक्षमा पत्नीसँगको सम्वन्धबिच्छेदको फैसला गरिदिएको हो ।

                                                 फाइल तस्विर ।

जिल्ला न्यायाधीश कृपासुर कार्कीको इजलासले लिम्बूको माग अनुसार ५६ वर्षीया पत्नी पृथीमाया लिम्बूसँग सम्वन्धबिच्छेदको फैसला गरेको अदालतका श्रेस्तेदार केदार प्रसाद गौतमले बताए ।

अदालतले २०७२ जेठ ५ गते नै पृथीमायालाई अंश दिलाएको थियो । अंश लेनदेनपछि अमृत र पृथीमाया छुट्टै बस्दै आएका थिए । अंश दिएपछि पनि पत्नीले सम्बन्धबिच्छेद गर्न नमानेर पेन्सन खोस्ने र अन्य मुद्द लगाइ दुःख दिन्छु भनेपछि आफैले बाध्य भएर सम्बन्धविच्छेदको निवेदन दिएको उल्लेख गरेका छन् ।

२०३४ सालमा विवाह गरेका उनीहरुका ३ छोरा र २ छोरी छन् । मुलुकी देवानी (संहिता) ऐन २०७४ परिच्छेद ३ दफा ९९३० मा पतिपत्नीको मञ्जुरीमा सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था छ । त्यही परिच्छेदको दफा ९४ मा पतिले सम्बन्धविच्छेद गर्न पाउने उल्लेख छ । भदौ १ गतेदेखि लागू भएको यो संहिताले लगातार तीन वर्षसम्म सम्पर्कविहीन भए सम्बन्धविच्छेदका लागि पुरुषले पनि महिलासरह अदालत जान पाउने व्यवस्था गरेको हो । जिल्ला अदालतमा अन्य २ पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्