निःशुल्क स्वास्थ्य शिविरको तयारी तीब्र

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, १४ कात्तिक / ताप्लेजुङमा आउँदो शुक्रबार र शनिबार दुई दिन आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरको तयारी तीब्र पारिएको छ । सेफ द हर्ट नामक संस्थाको सहयोगमा सञ्चालन गर्न लागिएको स्वास्थ्य शिविरलाई व्यवस्थित र प्रभावकारी बनाउनेगरी तयारीलाई तीब्रता दिइएको छ ।

शिविर सञ्चालनलका लागि जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनको अध्यक्षता गठित स्वास्थ्य शिविर मूल आयोजक समितिको सोमबार बैठक बसी शिविरलाई व्यवस्थित बनाउन विभिन्न निर्णयहरु गरिएको छ । उक्त बैठकले फुङ्लिङ नगरपालिका वडा नं. ४ का वडाध्यक्ष जीतेन चेम्जोङको अध्यक्षतामा शिविर स्टल व्यवस्थापन उपसमिति गठन गरिएको छ भने जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट शिविरमा स्वम्सेवकको कार्य गर्नेगरी निर्णय भएको मूल आयोजक समिति अध्यक्ष मादेनले बताउनुभयो ।

यसअघि फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलको नेतृत्वमा शिविर आवास व्यवस्थापन उपसमिति, पत्रकार महासङ्घ ताप्लेजुङका कार्यबाहक अध्यक्ष चन्द्र पन्दाक (प्रयास) को संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरी उपसमितिले आफ्नो जिम्मेवारी अनुसार क्रियाकलाप गर्दै आएको छ । इटालीका चारसहित नेपालका डेढ दर्जन बढी मुटुरोग विशेषज्ञ चिकित्सकहरुको संलग्नतामा सञ्चालन हुने शिविरमा विशेष गरेर मुटुसम्बन्धी रोगीलाई प्राथमिकता दिएको छ भने हाडर्जोनी, गाइनो, स्त्रीरोग लगायतका समस्याको उपचार हुने जनाइएको छ ।

शिविरमार्फत शल्यक्रिया सहितका मेजर सेवा दिनुपर्ने रोगीको पहिचान भएमा राजधानी लगेर बिरामीको निःशुल्क उपचार गरिने शिविरका लागि काठमाडौंमा गठित समन्वय समितिका संयोजक अग्नि पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार काठमाडौं लैजानुपर्ने प्रकृतिका मुटुरोगी फेला परे यातायात, आवास तथा उपचारमा लाग्ने सबै खर्च संस्थाले नै व्यहोर्ने छ । शिविर जिल्ला अस्पतालमा सञ्चालन गरिने छ ।


प्रतिक्रिया दिनुहोस्