राजनीतिक तहमा महिला नेतृत्व कार्यक्रम उपलब्धिमुलक

प्रयास लिम्बू

ताप्लेजुङ, १४ कात्तिक / ताप्लेजुङमा तीन वर्ष अघिदेखि महिलाहरुलाई राजनीतिक तथा सामाजिक रुपमा अगुवा बनाउने उद्देश्यका साथ सञ्चालित अभियान उपलब्धिमुलक देखिएको छ । जागरण नेपाल नामक संस्थामार्फत नेपाल महिला उद्यमी सङ्घ ताप्लेजुङले सञ्चालन गरेको उक्त अभियानको प्रगतिअनुसार उपलब्धिमुलक रहेको औंल्याइएको छ ।

                          फाइल तस्विर

जागरण नेपालकी निर्देशक मीना बिष्टको उपस्थितिमा स्थानीय सञ्चारकर्मी तथा सरोकारवालाको सहभागितामा सदरमुकाम फुङ्लिङमा आयोजित अन्तक्र्रियामा महिला नेतृत्वको उत्पादन साथै विकास गर्नेगरी सञ्चालित कार्यक्रमको प्रगतिबारे जानकारी गराइएको थियो । उद्यमी सङ्घले सिमान्तकृत समुदायको स्थानीय सुशासन, निर्वाचन र निर्णायक तह तथा राजनीतिक सहभागिता सवलीकरण परियोजना (स्मार्को) अन्तर्गत जिल्लाका विभिन्न गाउँमा स्थानीय महिलालाई नेतृत्वकर्ताको सीप हस्तान्तरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अन्तक्र्रियामा स्मार्को परियोजना सञ्चालन भएपछि जिल्लामा बनेका महिला उत्प्रेरणा समूह र जिल्ला महिला स्रोत केन्द्रभित्र आवद्धमध्येका महिलाहरु नै यसअघि सम्पन्न स्थानीय निर्वाचनमा प्रतिस्पर्धी बनेका थिए । चुनावी प्रतिस्पर्धामा उत्रेका मध्ये विभिन्न दलका तर्फबाट नौ जना महिला स्थानीय तहमा निर्वाचित भई हाल जनप्रतिनिधिको रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । यसलाई उद्यमी सङ्घले कार्यक्रमको उपलब्धिको रुपमा लिएको छ ।

नेपाल महिला उद्यमी सङ्घकी अध्यक्ष लीलादेवी बोखिमले नेतृत्व, क्षमता, सीप हासिल गरिरहेका महिला नेतृत्वमा पुग्नुलाई कार्यक्रमको मुख्य उपलब्धिको रुपमा लिनुपर्ने बताउनुभयो । नेतृत्व सीप हासिल गरिरहेका समूहका सदस्य नै जनप्रतिनिधि बन्दा क्षमता विकासका लागि उल्लेख्य उपलब्धि भएको बोखिमको भनाइ छ । राजनीतिक तथा समाजिक क्षेत्रको नेतृत्वकर्ता बन्ने कोसिस गरिरहेका तर, आर्थिक हिसाबले पछाडि परेका महिलाहरुको आर्थिक उर्पाजनमा टेवा पुर्याउन र आम्दानी वृद्धिका कार्यक्रमसँगै सीप हस्तान्तरण कार्यक्रम समेत सङ्घले गर्दै आएको जनाइएको छ ।

जागरण नेपालकी निर्देशक बिष्टले यस उपलब्धिलाई महत्वपूर्ण रुपमा लिनुपर्ने बताउँदै अब कुनै संस्थाहरुले मात्र नभई स्थानीय सरकारका रुपमा स्थापित स्थानीय तहले नै अब महिलाहरुलाई नेतृत्वको पहुँचसम्म पु¥याउनेगरी सीप हासिल तथा उत्पादनमुखी कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले कानुनमा व्यवस्था गरिएको मात्र नभई हरेक ठाउँमा खुल्ला प्रतिस्पर्धी बन्न सक्नेगरी महिला नेतृत्वको विकास हुन आवश्यक रहेको बताउनुभयो । राजनीतिक तथा सामाजिक क्षेत्रमा महिला नेतृत्व उत्पादन गर्ने उद्देश्यले नै पूर्वका विभिन्न छ वटा जिल्लामा स्थानीय संस्थामार्फत कार्यक्रम सञ्चालन गरिएको पनि जानकारी दिनुभयो ।

यता स्मार्को परियोजना कार्यक्रमका संयोजक किरण पौडेलले कार्यक्रम जिल्लाको पूर्वी सिदिङ्बा गाउँपालिकाको पाँचवटा वडामा सञ्चालन गरिएको बताउनुभयो । सिदिङ्बाको वडा नं. ३ आँखोप, वडा नं. ४ साब्लाखु, ५ लिम्बुदिन, ६ मेहेले र वडा नं. ७ सुरुम्खिममा कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक पौडेलले जानकारी दिनुभयो । परियोजना सञ्चालन भइरहेको समयमा स्थानीय तह लगायतका निर्वाचन भई दिएकाले महिला नेतृत्वका लागि कार्यक्रमले ठूलो सहयोग पु¥याएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्