स्वास्थ्यमा उल्लेख्य सुधार भए पनि, प्रधानमन्त्री ओलीले अस्पतालबाट ‘डिस्चार्ज’ पाएनन

काठमाडौं, १५ कातिक / प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भए पनि आज ( बिहीबार ) अस्पतालबाट ‘डिस्चार्ज’ भने पाएनन् । प्रधानमन्त्री ओली आज त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुने चर्चा चले पनि अन्ततः आजै प्रधानमन्त्रीलाई डिस्चार्ज दिन नमिल्ने निष्कर्षमा अस्पताल पुगेको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि केहि दिन अस्पतालमा नै रहनु पर्ने भएको छ । त्रिवि शिक्षण अस्पतालले बिहीवार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि डिस्चार्ज गर्न नसकिने स्पष्ट पारेका छन । प्रधानमन्त्रीको पछिल्लो रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्ट सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहे पनि प्रधानमन्त्रीलाई दिइएको औषधिको मात्रा नपुगेकोले अझै केहि दिन अस्पतालमा नै रहनुपर्ने डा। दिव्या सिंहले जानकारी दिएकी छन् ।

अहिले नै काममा फर्कने गरी स्वास्थ्य अवस्था तयार नभएको र केहि औषधी नियमित सेवन गर्नुपर्ने तथा अस्पतालमा आराम समेत मिल्ने भएकोले प्रधानमन्त्री केहिदिन अस्पतालमा नै बस्ने डा. सिंहले बताइन् । प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलन देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्री ओलीको उपचारमा निजी चिकित्सक तथा मृगौला रोग विशेषज्ञ डा। दिव्यासिंह शाह, मुटु रोग विशेषज्ञ डा।अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा। दिलिप शर्मा र एनेस्थेसियाका डा। सुवास आचार्य रहेका छन् ।

बुधबारबाट प्रधानमन्त्री ओलीको छातीको संक्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उपचारमा संलग्न प्राडा। अरुण सायमीले जानकारी दिएका छन् । साथै प्रधानमन्त्रीले उपचार कक्षमा सामान्य हिँडडुल र खाना आफैले खान थालेको पनि डा ।सायमीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्