सुकेटारमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती

प्रयास लिम्बू
ताप्लेजुङ, कात्तिक १५ गते / ताप्लेजुङको सुकेटार बजारमा म्याद गुजे्रका तथा अखाद्य वस्तुहरु छ्यापछ्याप्ती फेला परेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी अनुज भडारीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य वस्तुहरु प्रसस्तै फेला परेको हो ।  दसैँ अघि निक्कै बाक्लोगरी बजार अनुगमन गरेको जिल्ला अनुगमन समिति तथा फुङ्लिङ नगरपालिका कार्यालयले बुधबारदेखि पुनः बजार अनुगमनलाई सुरु गरेको छ । नजिकिएको तिहार पर्वलाई लक्षित गरी बुधबार सदरमुकाम फुङ्लिङबजारमा समिति र नगरपालिकाले संयुक्त रुपमा अनुगमन गरेको थियो । सदरमुकाम बजारमा भने म्याद गुज्रेका केही पेय पदार्थ, चिउरा लगायतका खाद्य सामग्री फेला परेको थियो ।

पर्यटकीय नगरीका रुपमा रहेको सुकेटार बजारमा भने म्याद गुज्रेका तथा अखाद्य वस्तु प्रसस्तै फेला परेको फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोख्रेलले बताउनुभयो । प्रजिअ भण्डारीकै नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका कोकाकोला, स्प्राइट लगायतका पेय पदार्थ र मिनरल वाटर प्रशस्तै भेटिएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिनुभयो । यस्तै केही बियर, बिस्कुट, चाउचाउ, जुस, अचारजन्य वस्तु लगायतका खाद्य सामग्रीहरु पनि म्याद गुज्रेका फेला परेको थियो । मापदण्ड विपरित लोगो र लेवल भएको गुट्खा, खैनी तथा सूर्तिजन्य वस्तु पनि फेला परेको जिल्ला अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले जानकारी दिनुभयो ।

यता सूर्तिजन्य वस्तुहरु मापदण्ड विपरितका भेटिएकाले सुकेटारमा मात्र नभई फुङ्लिङ बजारमा समेत अनुगमन गरी फेला परेमा जफत गरिने तथा सुरुमा सम्बन्धित व्यवसायीलाई सचेत गराउने र दोहो¥याएमा कारबाहीको प्रक्रिया अघि बढाउने प्रजिअ भण्डारीले बताउनुभयो । उहाँले सबै व्यवसायीलाई व्यवसाय दर्ता लगायतका प्रक्रिया पूरा गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न सचेत गराएको पनि जानकारी दिनुभयो । अनुगमनका क्रममा फेला परेका सबै सामग्री जफत गरिएको र मुचुल्का उठाएर नष्ट गरिने समितिले जनाएको छ ।

चाडपर्व पर्वका समयमा हुनसक्ने कालोबजारी र म्याद गुज्रेका तथा अखाद्य वस्तुहरुको बिक्री वितरण बढ्नसक्ने अवस्थालाई मध्यनजर गर्दै अनुगमनलाई निरन्तरता दिइएको जिल्ला अनुगमन समितिले जनाएको छ । यस समयमा हुनसक्ने सम्भावित व्यापारिक अनियमितताको अन्त्य गर्ने र उपभोक्ताहरु ठगिन नपाउन् भन्ने उद्देश्यले समेत बजार अनुगमनलाई सुरु गरिएको हो । चाडपर्व लक्षित मात्र नभई आगामी दिनमा पनि बजार अनुगमन कार्यलाई जारी राख्ने फुङ्लिङ नगरपालिका कार्यालयले जनाएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्