विद्यालय भवनको उद्घाटन

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, कात्तिक १५ गते / ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ बहानन्देस्थित मेवाराजा आधारभूत विद्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ । हुमेन प्राक्टिस फाउण्डेसन (एचपीएफ) को सहयोगमा निर्माण सम्पन्न भएको विद्यालय भवनको फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल र आर्थिक सहयोग दाता परिवारले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।


चार कोठा रहेको दुईतले विद्यालय भवन निर्माणका लागि एचपीएफले ३६ लाख ६१ हजार ९१२ रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । स्थानीय समुदायको ११ लाख १२ हजारसहित कुल ४७ लाख ७३ हजार ९१२ रुपियाँको लागतमा विद्यालय भवन निर्माण सम्पन्न भएको एचपीएफअन्तर्गत काभ्ली कार्यक्रमका संयोजक अजित गुरुङले जानकारी दिनुभयो ।
यस्तै भवनसहित विद्यालयको खेलमैदान निर्माण, पुस्तकालय स्थापना र शिक्षण शिकाइका विभिन्न सामग्री खरिद गर्नमा पनि एचपीएफले सहयोग गरेको गुरुङले बताउनुभयो । उहाँका अनुसार तीन लाख ८५ हजार रुपियाँ बराबरको पुस्तकालय, खेलमैदान निर्माणमा एक लाख ९२ हजार ५०० र शैक्षिक सामग्रीका लागि एक लाख ९२ हजार ५०० रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ । यता पक्की विद्यालय भवन निर्माण लगायतमा पाएको एचपीएफको सहयोगले ठूलो राहत मिलेको प्रधानाध्यापक नरनाथ भट्टराईले बताउनुभयो ।
यसैबीच एचपीएफकै सहयोगमा जिल्लाको सिरिजङ्घा गाउँपालिका वडा नं. ५ पेदाङको राष्ट्रिय माध्यमिक विद्यालयमा आठ कोठे भवन बन्ने भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेलप्रसाद बुढाक्षेत्री (पराग) का अनुसार एचपीएफको करिव ८४ लाख रुपियाँ र स्थानीय समुदायको थप २० प्रतिशत बराबरको लागतमा उक्त विद्यालय भवन बन्ने भएको हो ।
एचपीएफ परियोजनामार्फत आर्थिक सहयोग गर्ने सहयोगदाताको तर्फबाट अवेर्ग इल्सा जेनी लिण्डा, अबेर्ग काज्सा लिण्डा बिर्गिता लगायतको उपस्थितिमा भवनको शिलन्यास गरिएको विव्यस अध्यक्ष बुढाक्षेत्रीले जानकारी दिनुभयो । आउँदो अगस्टमा विद्यालय भवन सम्पन्न गर्नेगरी सम्झौता भएको विद्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्