विश्वकप ट्रफि नेपालमा आउँदा आधिकारीक निकायलाई पत्तै छैन रे ?

कार्तिक १७, काठमाडौं । अघिल्लो शुक्रबार आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोतियोगिताको ट्रफी नेपाल भ्रमणमा ल्याइयो। ट्रफी चार दिन नेपालमा रह्यो। अर्को वर्ष आयोजना हुने एक दिवसीय विश्वकपअघि संसारव्यापी क्रिकेटको माहोल तयार पार्न ट्रफी नेपाल ल्याइएको थियो। ट्रफीलाई राष्ट्रपति भवन पुर्‍याइयो। राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले ट्रफी उचालेर तस्विर पनि खिचाइन्। ट्रफी नेपाल घुमाएर फिर्ता लगिसकिएको छ। तर, त्यसको आगमनबारे देशको कुनै पनि आधिकारिक निकायलाई जानकारी नगराइएको रहस्य खुलेको छ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपाली खेलकुदका दुई नेतृत्वदायी निकाय हुन्। दुवै निकायले विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याइएकोबारे आफूहरूलाई कुनै जानकारी नगराइएको दाबी गरेका छन्। ट्रफीलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीसँग पनि भेटाउने प्रयास गरिएको थियो। उपराष्ट्रपति कार्यालयले यसबारे मन्त्रालय र राखेपसँग सल्लाह गर्‍यो। दुवै निकायले आधिकारिक जानकारी नभएको बताएपछि उपराष्ट्रपति कार्यक्रममा उपस्थित भएनन्। प्रधानमन्त्रीसँग अस्वस्थताका कारण भेट सम्भव भएन।

‘विश्वकप ट्रफी नेपाल ल्याइएकोबारे राखेपलाई कुनै आधिकारिक जानकारी छैन। ट्रफी नेपाल आइसकेपछि एउटा कार्यक्रममा मलाई मौखिक आमन्त्रण गरिएको थियो’, राखेप सदस्यसचिव केशवकुमार विष्टले भने, ‘आधिकारिक सूचना नभएकाले म गइनँ।’ सदस्यसचिव विष्टले कसले र किन विश्वकप ट्रफी नेपाल ल्याएको हो भन्ने विषयमा आफूलाई थाहा नभएको बताए। ‘मैले समाचारहरू पढेर धेरै कुरा थाहा पाएको हुँ। विश्वकप ट्रफी नेपाल ल्याइनु ठूलो कुरा हो। तर, आधिकारिक निकायहरूसँग समन्वय भएको भए राम्रो हुन्थ्यो’, उनले भने। उपराष्ट्रपति कार्यालयले ट्रफीबारे आफूलाई सोधेको विष्टले पुष्टि गरे।

युवा तथा खेलकुद मन्त्रालयले पनि ट्रफीबारे कुनै जानकारी नभएको बतायो। खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माका सहायक स्वकीय सचिव भरत गुरुङले भने, ‘विश्वकप ट्रफी नेपाल ल्याउने विषयमा मन्त्रालयसँग कुनै अनुमति लिइएन। ट्रफी भ्रमणको कार्यक्रम तय गर्दा पनि कुनै सल्लाह गरिएन। मन्त्रालय र मन्त्रीज्यूलाई यसबारे जानकारी नै गराइएको थिएन।’ ट्रफी नेपाल ल्याएपछि एउटा कार्यक्रमका लागि भने मन्त्रीलाई मौखिक आमन्त्रण गरिएको गुरुङले बताए। ‘वसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्रीज्यूलाई मौखिक आमन्त्रण गरिएको थियो। तर, ट्रफी कसरी आयो भन्ने जानकारी नभएकाले उहाँ कार्यक्रममा जानुभएन’, गुरुङले भने।

बिना निम्तो र बिना जानकारी विश्वकप ट्रफी कसरी नेपाल भ्रमणमा ल्याइयो भन्नेबारे छानबिनको तयारी भइरहेको उनले सुनाए। आईसीसी विश्वकपको १२औं संस्करण सन् २०१९ को मे ३० देखि जुलाई १४ तारिखसम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ। विश्वकप सुरु हुनुअघि विश्वव्यापी रूपमा क्रिकेटको लोकप्रियता बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पाँचवटै महादेशमा ट्रफी टुर गराउन लागेको हो। विश्वकप सुरु हुनुअघि आईसीसीले ट्रफीलाई २१ राष्ट्रका ६० भन्दा बढी सहरमा पुर्‍याउने योजना बनाएको छ। सोही क्रममा विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याइएको थियो।

नेपाल भ्रमणमा रहँदा ट्रफीलाई पोखरा पनि लगिएको थियो। अधिकांश राष्ट्रिय क्रिकेट खेलाडी पोखरा प्रिमियर लिगमा सहभागिता जनाउन पोखरामा रहेकाले ट्रफी त्यहाँ लगिएको थियो। ट्रफीलाई केबुलकारमार्फत चन्द्रागिरी पनि लगिएको थियो। काठमाडौंमा ट्रफीलाई कडा सुरक्षाबीच प्रदर्शनका लागि स्वयम्भू र वसन्तपुर दरबार क्षेत्रमा राखिएको थियो। ट्रफी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तैदेखि नेपाल प्रहरीले विशेष सुरक्षा प्रदान गरेको थियो। प्रहरीले कसको आग्रहमा ट्रफीका लागि सुरक्षा व्यवस्था मिलायो त ?‘नेपाल भ्रमणमा ल्याइएको विश्वकप ट्रफीको सुरक्षाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल मुख्यालयले लिखित आग्रह गरेकाले हामीले ट्रफीलाई सुरक्षा प्रदान गरेका हौं’, प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले भने।

नेपाल भ्रमणका क्रममा ट्रफीमा क्षति पुगे देशकै प्रतिष्ठा जोडिने भएकाले पनि आफूहरूले उचित सुरक्षा प्रबन्ध मिलाएको सुवेदीले बताए। ट्रफी नेपालमा रहँदा आन्तरिक प्रबन्ध मिलाउने भावना घिमिरे भने आफूले ट्रफी भ्रमणको कार्यतालिकाको विषयमा राखेपलाई जानकारी गराएको दाबी गरिन्।

‘विश्वकप ट्रफीको नेपाल भ्रमणबारे सम्पूर्ण जानकारीसहित मैले राखेप र सदस्यसचिवज्यूलाई ईमेल पठाएको थिएँ’, घिमिरेले भनिन्। उनी नेपाल क्रिकेट संघ ९क्यान०की पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्। सदस्यसचिव विष्ट भने इमेल प्राप्त नगरेको बताउँछन्। आईसीसीले ट्रफीलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा समेत लैजाने चासो देखाएको थियो। अन्नपूर्ण पोस्ट्लाई प्राप्त आईसीसीले गत अक्टोबर १५ तारिखमा कसैलाई सम्बोधन नगरी पठाएको पत्रमा सम्भव भए ट्रफीलाई सगरमाथा आधार शिविरसम्म लैजाने उल्लेख छ। तर, चारदिने भ्रमणमा ट्रफी सगरमाथा आधार शिविर लगिएन।

‘प्राविधिक कारणले ट्रफी सगरमाथा आधार शिविर लैजान सकिएन। सम्भव भए अर्कोपटक लैजाने प्रयास गरिने छ’, आईसीसीकी नेपाल प्रतिनिधिसमेत रहेकी घिमिरेले भनिन्। आईसीसीको बजार तथा प्रवद्र्धन विभागका सोमरेश सेट्टीद्वारा हस्ताक्षरित उक्त पत्रमा ट्रफीको नेपाल भ्रमणबारे बुझ्न भावना घिमिरे वा आफूसँग सम्पर्क गर्न भनिएको छ। क्यानको निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले पनि विश्वकप ट्रफीको नेपाल भ्रमणबारे आफूहरू जानकार नभएको बताए। ‘ट्रफी भ्रमणबारे आईसीसीबाट कुनै पत्र आएको छैन। ट्रफीलाई चन्द्रागिरी लैजाँदा मौखिक आमन्त्रण गरिएको थियो तर म गइनँ’, प्याकुरेलले भने।

आईसीसी विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याइएको यो पहिलो पटक हो। ट्रफी टुर आईसीसीको दुबईस्थित मुख्यालयबाट गत अगस्ट २७ तारिखमा सुरु गरिएको हो। नौ महिना लामो भ्रमणका क्रममा अघिल्लो ६ महिना ट्रफीलाई विभिन्न राष्ट्रमा पुर्‍याइने छ। बाँकी तीन महिना इङ्ल्यान्डकै विभिन्न सहरको परिक्रमा गराइने छ।

विश्वकप ट्रफी बंगलादेश हुँदै सातौं राष्ट्रका रूपमा नेपाल ल्याइएको हो। त्यसअघि ट्रफीलाई ओमन, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेशको भ्रमण गराइएको थियो। नेपालपछि ट्रफीलाई भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स र जर्मनी हुँदै आगामी फेब्रुअरी १९ तारिखमा विश्वकप आयोजना स्थल इङ्ल्यान्ड र वेल्स पुर्‍याइने कार्यक्रम छ। यो ’समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्