२९ वर्षमै ९ सन्तान श्रीमान सधैँ कन्दमूल खोज्न जंगल जान्छन

काठमाडौ‌ कार्तिक १७, / पिठ्युँमा ७ महिने नानी र अगाडि १७ महिने छोरा बोकेर गत साता मकवानपुरको कैलाश गाउँपालिकामा आयोजित स्वास्थ्य शिविरमा आएकी ज्योतिमाया चेपाङ भर्खर २९ वर्षकी भइन्।

फाइल तस्बिर

तर उनी नौ वटा बच्चाकी आमा बनिसकेकी छन्। नौमध्ये सात जीवित छन्।  १३ वर्षको उमेरमा विवाह गरेकी ज्योतिका सात महिनादेखि १० वर्षसम्मका बालबचच्चा छन्। १४ वर्षमा पहिलो सन्तान जन्माएकी ज्योतिमा अहिले श्वासप्रश्वास र आङ खस्ने समस्या छ। उनलाई परिवार नियोजन गर्नुपर्छ भन्ने ज्ञान छैन। उनका पतिमा पनि यस विषयमा अत्तोपत्तो छैन।

बालिकाबाट किशोरी हुन नपाई आमा बन्न पुगेकी ज्योतिका छोराछोरी पनि दुब्लापातला छन्। उनका ३० वर्षीय पति सधैँ कन्दमूल खोज्न जंगल जाने गरेका छन्। कैलाश गाउँपालिकाका चेपाङ समुदायका अधिकांश बालिका किशोरी हुन नपाई आमा बन्ने गरेका छन्। ज्योति मात्र होइन, कैलाश ७ की ३० वर्षीया कान्छिमायाँ चेपाङका पनि ८ सन्तान छन्।

उनी पनि नवौँ सन्तान जन्माउने तरखरमा छिन्। कैलाश गाउँपालिकाकी वरिष्ठ अहे जमुना गुरुले चेपाङ महिलामा परिवार नियोजनप्रति गलत धारण रहेको बताइन्। चेपाङ गाउँमा ५० वर्ष पुगेका महिलाको संख्या अत्यन्त न्युन छ। विभिन्न रोगका कारण चेपाङ महिलाको ४०(४२ वर्षकै उमेरमा मृत्यु हुने गरेको छ। आजको कान्तिपुर दैनिकमा हेटौंडाबाट प्रताप विष्टले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्