अमेरिका छिर्न प्रयासरत हजारौं आप्रवासीलाई गोली हान्न ट्रम्पको आदेश

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्वाटेमाला, होन्डुरस, एल साल्भाडोरबाट मेक्सिको हुँदै अमेरिका छिर्न प्रयासरत ५ हजार भन्दा बढी आप्रवासीहरुलाई गोली चलाउन आदेश दिएका छन । आप्रवासीहरुले सुरक्षाकर्मीलाई ढुंगा प्रहार गरेको अवस्थामा उनीहरुमाथि गोली चलाउन ट्रम्पले आदेश दिएका हुन। अहिलेसम्म भने अमेरिकी सेना र आप्रवासीहरुवीच त्यस्तो कुनै अप्रिय घटना घटेको छैन ् । ट्रम्पले यसअघि नै ती मानिसहरुले आफ्ना सेना तथा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दै हिंसात्मक गतिविधि गरेको दावी गरेका छन् । राष्ट्रपति ट्रम्प्ले ती आप्रवाशीलाई रोक्न मेक्सिकोको सीमा क्षेत्रमा १५ हजार सुरक्षाकर्मी खटाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न थप पाँच हजार २०० सेना परिचालन गर्न लागेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमामा थप सुरक्षा बल परिचालन गर्नुपर्ने परिस्थिति आएको पटकपटक बताउँदै आएका छन् । उनले अवैध आप्रवासी रोक्नेतर्फ अमेरिकी डेमोक्राट्स पार्टीले कुनै पहल नगरेको भन्दै आलोचना गर्दै आएका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी सीमा नाकातर्फ बढिरहेको आप्रवासीको लस्करमा अपराधिक समूहका सदस्य मिसिएको बताएका छन् । उनले आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने बताउँदै समयमै उपयुक्त निर्णय गर्न र आफ्नै देश फर्कन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्