‘नीतिगत व्यवस्थाका कारण देशमा अस्थिरता’ : अध्यक्ष कमल थापा

प्रयास लिम्बू
ताप्लेजुङ, कात्तिक १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नीतिगत व्यवस्थाकै कारण अहिले पनि देशको अस्थिरता कायमै रहेको बताउनुभयो । देशको असफलता अर्थात अस्थिरता कायम रहनु कुनै एक मात्र दल वा व्यक्तिको दोष नरहेको बताउँदै यसको बढी जिम्मेवार भने सरकारको रहने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापा लगायतका नेतागण । तस्बिर ः प्रयास ।

कार्यकर्ता भेटघाट तथा प्रशिक्षणका क्रममा ताप्लेजुङ आइपुग्नुभएका अध्यक्ष थापाले शनिबार बिहान सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुलुकका दलहरुको नीतिगत तथा व्यवस्थागत त्रुटीका कारण देश सङ्कटको दिशातर्फ धकेलिँदै गएको दावी गर्नुभयो । थापाले भन्नुभयो, “बिद्यमान राज्य व्यवस्थाका कारण मुलुक असफलताको दिशातर्फ लम्कन थालेको होकी भन्ने भान हुन थालेको छ, यसमा वर्तमान सरकार र सरकारको नेतृत्व गर्ने दल सबैभन्दा बढी जिम्मेवार र संवेदनशील हुनुपर्छ ।” उहाँले जनताले अपेक्षा गरेअनुसार सरकारले काम गर्न नसकेकै कारण पनि सङ्कट चुलिँदै गएको आरोप लगाउनुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका थापाले प्राविधिक र संख्यागत रुपमा राजसंस्था अन्त्य भएको भनिए पनि व्यवहारतः राजसंस्थाको आवश्यकता झल्कदै गएको बताउनुभयो । उहाँले नेपालको एकताको प्रतीक शाहवंशीय परम्परा र मान्यता अनुसारकै उत्तराधिकारी रहने राजसंस्था सहितको लोकतन्त्रले मात्र मुलुकलाई निकास दिने पनि दावी गर्नुभयो ।
हालको धर्म निरपेक्षताको आडमा जबरजस्त रुपमा भइरहेको धर्म परिवर्तनको श्रृङ्खलाले अहिलेसम्म कायम रहेको सामुहिक सद्भाव खल्बलिने र मुलुक गम्भीर धार्मिक द्वन्द्वमा फस्ने सम्भावना बढ्दै गएको उहाँको भनाइ छ । धर्म निरपेक्ष व्यवस्थाले राष्ट्रिय पहिचानका रुपमा रहेको सनातन हिन्दू धर्ममाथि खलल् पु¥याउने कार्य भइरहेको बताउँदै उहाँले सरकारको सुरक्षा निरीहताका कारण पनि बिखण्डनकारी शक्तिको मनोबल उच्च बन्दै गएको बताउनुभयो ।

बिग्रदोँ शान्ति सुरक्षाको अवस्थासँगै देशमा हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न सरकार असफल भएकोले जनताले विश्वास गरेर दिएको मतको अवमूल्यन हुन लागेको समेत उहाँको दावी छ । यस अवस्था लामो समयसम्म कायम रहेमा जनताको धैर्यता गुम्नेतर्फ गम्भीर बन्न उहाँले सरकारको नेतृत्व गर्ने दल नेपाल कम्युनिष्ट पार्टी र सरकारको नेतृत्वमा रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकृष्ट गर्नुभएको छ । सरकारले देशको अर्थतन्त्र सुदृढ बनाई समृद्ध नेपाल बनाउने बताए पनि गरिवी निवारण, बेरोजगारी समस्या समाधानका लागि कुनै ठोस र प्रभावकारी योजना अघि नर्सानुले जनतामा निरासा पैदा हुन थालेको उहाँले बताउनुभयो । अब देशमा दीर्घकालिन स्थिरता कायम गर्न र आर्थिक विकासका कार्यलाई द्रूत गतिमा अघि बढाउन बिद्यमान नीतिगत व्यवस्था परिवर्तन गर्दै राजसंस्था सहितको लोकतन्त्र स्थापना गरेमात्र सम्भव हुने पनि उहाँको तर्क रहेको छ ।
यस्तै हिन्दू राष्ट्र पुनःस्थापनाका लागि देशैभर हिन्दू राज्य पुनर्जागरण अभियान सञ्चालनको तयारी पनि राप्रपाले गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार केहि दिनभित्रै राष्ट्रिय स्वाभिमान यात्रा अभियान थाल्ने पार्टीको तयारी रहेको छ । यता राप्रपासँग विचार र सिद्धान्त मिल्ने शक्तिसँग पार्टी एकताको पहल भइरहेको पनि उहाँले बताउनुभयो ।
अध्यक्ष थापाले सबैभन्दा पहिलो प्राथमिकता विगतको राप्रपालाई एक बनाउने र त्यहीँबाट पार्टी छोडी अन्य दलमा गएकाहरुलाई फर्काउने योजना रहेको बताउनुभयो ।

उक्त ओजना अनुसार आगामी एक वर्षभित्र कम्तिमा ५० हजार सङ्गठित पार्टी सदस्यता थप गर्ने कार्यसूची बनाएको समेत उहाँले जानकारी दिनुभयो । यसअघिको प्रतिनिधि तथा प्रदेससभाको निर्वाचनमा राप्रपाले नराम्ररी पराजय बेहोरेकाले आगामी निर्वाचनमा पार्टीलाई शक्तिशाली बनाउने गरी अहिले देखि नै पहल थालेको पनि अध्यक्ष थापाको भनाइ छ ।
कार्यकर्ता प्रशिक्षणका लागि प्रतिनिधिसभाका सदस्य तथा राप्रपाका सङ्गठन विभाग प्रमुख राजेन्द्र लिङ्देनसहितका नेताहरु ताप्लेजुङ आउनुभएको तेज सुनुवारले जानकारी दिनुभयो । सुनुवारका अनुसार प्रशिक्षणमा जिल्लास्तरीय अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्