समृद्ध नेपाल बनाउने समय आयो : नेता भुसाल

तुलसीपुर, १७ कात्तिक / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य घनश्याम भुसालले अब समृद्ध नेपाल बनाएर देखाउनुपर्ने बेला आएको बताउनुभएको छ । नेकपा दाङले आज तुलसीपुरमा आयोजना गरेको विजौरी हत्याकाण्डका शहीदको सम्झनामा आयोजित नेपालको राजनीतिक परिवर्तनमा ‘शहीदहरुको योगदान र भाबी दिशा’ विषयक विचार विमर्शमा उहाँले समृद्धिका कुरा गरेरमात्र हुँदैन केहिन केही देखिने र परिवर्तन भएको महसुस गर्ने गरी काम गर्नुपर्छ भन्नुभयो ।

उहाँले पहिले बिपी, पूर्वराजाहरु महेन्द्र, वीरेन्द्र र स्व गिरीजाप्रसाद कोइरालले पनि समृद्धिका कुरा उठाएको र उनीहरुले गर्न नसकेको चर्चा गर्दै अब आफूहरुले गरेर देखाउनुपर्ने बेला आएको बताउनुभयो । त्यसैगरी नेता भुसालले शहीदको बलिदानीलाई खेर जान दिन नहुने बताउनुभयो । दाङकै अर्को कार्यक्रममा शहीदको त्याग, रगत र बलिदानीले नै मुलुकले संविधानसभाबाट संविधान प्राप्त गरी समृद्धिको मार्गमा अघि बढेको उहाँको तर्क थियो ।

“नेपाललाई यो मार्गसम्म ल्याउन शहीदको भूमिका एकदमै महत्वपूर्ण छ” उहाँले भन्नुभयो, “समृद्ध मुलुक बनाउने उहाँहरुको चाहनालाई आत्मसात् गर्नुपर्छ, शहीदको रगत खेर जान दिनुहुँदैन ।”उहाँले पार्टीको एकता प्रक्रियालाई समयमै टुङ्ग्याउनुपर्ने भए पनि विभिन्न कारणले समस्या देखिएको भन्दै यसलाई हल गरेर लैजानेसमेत बताउनुभयो । अहिले पार्टीमा विकृति फैलिएको भन्दै तल्ला कमिटीदेखि मथिल्ला कमिटीमा पार्टीलाई सुधार गरेर लैजानुपर्ने भएकाले पनि ढिला भएको उहाँको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्